• २१ वैशाख २०८१, शुक्रबार

आठ करोडको खसीबोका, च्याङ्ग्रा खरिद गरिँदै

blog

काठमाडौँ, असोज ४ गते । सरकारले यस वर्ष पनि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनका लागि आठ करोड ३३ लाखको खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ । 

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने र दसैँ ,तिहारका लागि खाद्य,व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्न लागेको हो । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार दसैँका लागि तीन हजार खसी,बोका तथा च्याङ्ग्रा खरिद हुनेछन् । 

जसमध्ये दुई हजार खसी र बोका रहनेछन् भने एक हजार च्याङ्ग्रा खरिद गरिने न्यौपानेले बताउनुभयो । वार्षिक कार्यपालिका अनुसार नै कम्पनीले खसी, बोका तथा च्याङ्ग्रा खरिदका लागि बजेट छुट्याएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारले प्रत्येक वर्ष नै सहुलियत पसल र खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्दैआएको छ । यस वर्ष पनि सोही कार्यक्रमका लागि आठ करोड ३३ लाख रकम छुट्टाएका छौँ ।” उहाँका अनुसार कम्पनीले प्रस्ताव गरेको रकम केही दिनमै मन्त्रालयमा पेस हुने र निर्णय हुनेछ । 

गत वर्ष जस्तै यसवर्ष पनि सहुलियत पसलहरू रहने उहाँको भनाइ छ  । काठमाडौँ उपत्यका र बाहिरबाट धेरै माग भएको खण्डमा आवश्यकता अनुसार सहुलियत पसल थप गर्न सकिने सूचना अधिकारी न्यौपानेको भनाइ छ । ती पसलका आधारभूत खाद्यान्न सहुलियत मूल्यमा पाइने कम्पनीले जनाएको छ । उपत्यका बाहिरका ४० जिल्लाका ३९ स्थानमा पनि खाद्यको सुपथ पसल हुनेछ ।

साल्ट ट्रेडिङले पनि संयुक्त र बेग्ला बेग्लै गरी देशभर ३८ वटा स्थानमा सहुलियत पसल सञ्चालन गर्ने तयारी गर्ने जनाएको छ । कहिलेदेखि सो पसल सञ्चालन हुन्छ भन्ने भने निर्णय उद्योग मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गर्नेछ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।