गुणबहादुर रोका
सुलीकोट, असोज ३ गते । गोरखाको गण्डकी गाउँपालिका– ८ को बरफेदीमा समयमै वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । संविधान दिवसको अवसर पारेर आफ्नै भवनबाट गाउँपालिकाले सेवा सुचारु गरेको हो ।
वडा अध्यक्षका ओकिल बहादुर पुलामी मगरका अनुसार संविधान दिवसको दिन भवन उदघाटन गरी सेवा सुचारु गरिएको हो । नवनिर्मित भवनको उद्घाटन गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेना साकारले गर्नुभयो । उहाँले धेरै वर्षपछि वडावासीले नयाँ भवनबाट सेवा प्रवाह गर्न पाउँदा खुशी लाग्नुका साथै वडा कार्यालयको प्रशासनीक कार्यमा सहज भएको बताउनुभयो ।
वडा अध्यक्ष पुलामी मगरले ९२ लाख रुपियाँमा गाउँपालिकाको बजेटबाट निर्माण गरिएको जानकारी दिनुभयो । गाउँपालिका र निर्माण कम्पनीबीच २०७९ साउन ९ गते सम्झौता भएको थियो ।
साढे दुई तलाको वढा कार्यालयमा एक बैठक कक्ष, सभा कक्ष हल, बाहेक ६ वटा कोठा रहेको उहाँले जानकारी दिनुभयो । भन उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी लगाएतको उपस्थित रहेको थियो ।