• ८ मंसिर २०८१, शनिबार

झापा लिग हुँदै

blog

बिर्तामोड समाचारदाता

बिर्तामोड, भदौ २७ गते । भद्रपुर झापा गोल्डकपको आयोजनामा खेलाडी समेतको छनौट गर्ने उद्देश्य राखेर झापा लिग गर्ने भएको छ । मङ्सिर ७ गतेदेखि भद्रपुरको मेची रङ्गशालामा हुने झापा लिगको तयारी सुरु गरिएको छ । १५ दिनसम्म चल्ने प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष दिपेश ढकालले बताउनुभयो ।

झापाका १५ वटा पालिका र आयोजकको एक टिम गरी प्रतियोगितामा १६ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । १६ वटा टिमलाई चारवटा समूहमा विभाजन गरी खेलाइने जनाइएको छ । प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगितामा तेस्रो स्थानका लागि पनि खेलाइनेछ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले २ लाख रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । नकआउट चरण प्रवेशपछि प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५ हजार रुपियाँ पाउनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपियाँ खर्चको अनुमान गरिएको छ । फुटबलको उर्वरभूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।