ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, असार १२ गते । ताप्लेजुङस्थित माथिल्लो तमोर जलविद्युत्को काम तत्काल रोक्नुपर्ने आयोजना प्रभावित क्षेत्रका बासिन्दाले माग गरेका छन् । याक्थुङ (लिम्बू) समुदायको मुन्धुमी स्थलमा जबरजस्ती आयोजना निर्माण गर्न लागिएकाले तत्काल काम रोक्न प्रभावित क्षेत्रका बासिन्दाले माग गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई आयोजना प्रभावित बासिन्दाका तर्फबाट अप्पर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले आफ्ना मागबारे स्मरणपत्र बुझाएका हुन् । मन्त्रालय र मन्त्रीसमक्ष पुग्ने गरी सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई स्मरणपत्र बुझाएका छन् ।
आयोजना स्थल याक्थुङ समुदायको मुन्धुमी क्षेत्र तथा स्थल भएकाले आयोजना निर्माण गर्न नहुने अडान प्रभावित सङ्घर्ष समितिले राख्दै आएका छन् । लिम्बू समुदायले आफ्नो धार्मिक दर्शनका रूपमा मुन्धुमलाई मान्ने गर्दछन् । मुन्धुमी स्थलको अतिव्रmमण गरी जलविद्युत् आयोजना निर्माण गर्दा मौलिक सभ्यता र संस्कृति मासिने भन्दै मुन्धुमी स्थलको संरक्षण गर्न आफूहरू लागिपरेको प्रभावित क्षेत्रका बासिन्दाले उल्लेख गरेका छन् । विकासका नाममा जबरजस्ती जलविद्युत् आयोजना निर्माण गर्न लाग्नुले आदिवासी रैथाने याक्थुङ (लिम्बू) लगायत स्थानीय समुदायको अधिकारमाथि ठाडो हस्तक्षेप भएको स्मरणपत्रमा उल्लेख गरिएको छ ।
स्थानीय आदिवासीको सहमति र मन्जुरीबिना निर्माण कम्पनीले आयोजनाको काम अगाडि बढाउनु निन्दनीय भएको पनि स्मरणपत्रमा उल्लेख छ । अन्तर्राष्ट्रिय मूल्यमान्यता, सन्धि सम्झौता (आईएलओ १६९) मा भएका व्यवस्था र नेपालको संविधानले प्रदान गरेको अधिकार कार्यान्वयन हुनुपर्ने माग गरिएको छ ।
अप्पर तमोर प्रभावित सङ्घर्ष समितिका संयोजक वीरबल लिङ्खिमद्वारा हस्ताक्षरित स्मरणपत्रमा पहिलो चरणको आन्दोलनस्वरूप तत्काल काम रोक्न र रोकाउनका लागि अनुरोध गरिएको उल्लेख छ । तत्काल आयोजनाको काम नरोके चरणबद्ध आन्दोलन गर्ने पनि समितिले चेतावनी दिएको छ ।
फक्ताङ्लुङ गाउँपालिका–२, ३, ४ र ५ प्रभावित क्षेत्र रहेको तमोर नदीबाट तमोर इनर्जी प्रालिले २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माण गर्न सुरु
गरेको हो ।