भावना जोशी
अत्तरिया, असार १२ गते । धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय यु–१९ टी–२० महिला क्रिकेट प्रतियोगिता बिहीबार देखि सुरु भएको छ ।
फाप्ला क्रिकेट मैदानमा असार १९ गतेसम्म चल्ने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ ।
समुह ‘ए’ मा कैलाली, कञ्चनपुर, अछाम र बझाङ तथा समूह ‘बी’ मा डडेल्धुरा, बैतडी, डोटी र दार्चुला रहेका छन् । प्रदेश खेलकुद परिषदका सदस्य सचिव लोकबहादुर खड्काका अनुसार प्रतियोगिताको विजेताले दुई लाख तथा उपविजेताले एक लाख रुपियाँसहित ट्रफी तथा मेडल प्राप्त गर्ने छन् ।
तेस्रो र चौथो हुने टोलीलाई ५०/५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५/१५ हजार, उदीयमान खेलाडीलाई १० हजार र प्रत्येक खेलको म्यान अफ दी वमेनलाई दुई हजार रुपियाँ प्रदान गरिने छ ।