• १२ असार २०८२, बिहिबार

एमालेमाथि चौतर्फी हमला भइरहेको छ : महासचिव पोखरेल

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै महासचिव शंकर पोखरेल ।

गोरखापत्र अनलाइन

काठमाडौँ, असार १२ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमाथि चौतर्फी हमला भइरहेको बताउनुभएको छ । एमालेले राष्ट्रहित र जनताका सवाललाई शसक्त ढङ्गले उठाएकै कारण त्यस्तो हमला जारी रहेको उहाँको भनाइ छ ।

एमाले काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई आज टोखामा सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । पोखरेलले एमालेलाई राजावादी, कम्युनिष्ट नामका माओवादी, समाजवादी पपुलिस्ट राजनीति गर्नेहरू र विदेशी शक्तिहरूले समेत हमला गरिरहेको उहाँको भनाइ छ ।  

‘एमाले नभएको भए राजालाई नारायणहिटी लगेर श्रीपेच लगाइदिन यस्तो अवरोध हुने थिएन भन्ने लागेर राजावादीहरू एमाले विरुद्ध खनिएको उहाँले बताउनुभयो । ‘एमाले भएकै कारण राजावादीले जेठ १५ गतेदेखि सुरु गरेको अनिश्चितकालिन आन्दोलनले हावा खायो’ महासचिव पोखरेलले भन्नुभयो  ‘त्यसैले उनीहरू एमालेविरुद्ध खनिएका छन् । राजावादीको गालिबाट हामी बिचलित हुनुहुँदैन । उनीहरूले विरोध गरेपछि बुझ्नुपर्छ हामी सही ठाउँमा छौं ।’

एमालेलाई आक्रमण गर्ने अर्को शक्ति कम्युनिष्ट नामका माओवादी र समाजवादी भएको पोखरेलको भनाइ छ । नेपालमा एमालेलाई कमजोर नपारेसम्म आफूहरू अघि बढ्न नसक्ने निष्कर्ष निकालेर माओवादी,समाजवादी र अन्य कम्यूनिष्ट नामका पार्टीहरू एमालेमाथि हमला गर्न आउने गरेको उहाँले बताउनुभयो । ‘एमालेलाई कमजोर पारेपछि मात्र आफ्नो आकार बढाउन सकिन्छ भन्ने लागेका कम्यूनिष्टधारीहरू साइबर हमला गर्न आएका छन्’ पोखरेलले भन्नुभयो ‘तिनीहरू विदेशीका भरिया हुन् । कांग्रेससँग एमालेले सत्ता सहकार्य गरेपछि आफ्नो बार्गेनिङ घट्यो भनेर तिनीहरु एमाले विरुद्ध खनिएका हुन् । यसमा पनि हामी आत्तिने होइन प्रतिकारमा उत्रनु पर्दछ ।’

महासचिव पोखरेलले एमालेमाथि हमाल गर्ने तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन साहहरू भएको बताउनभुएको छ । ‘पपुलिजमका नाममा जनता अलमल्याएर उनीहरूले एमालेमाथि हमला गरिरहेका छन्’ पोखरेलले भन्नुभयो,  ‘किनभन्दा उनीहरूको गलत नीतिको प्रतिरोध र भण्डाफोर गर्न सक्ने एमाले हो भन्ने बुझेका छन् ।’ 

अराजकतावादीले घृणाको संस्कृति फैलाउने र त्यसलाई एमालेले प्रतिरोध गर्छ भन्ने बुझेर निशाना बनाएको उहाँले चर्चा गर्नुभयो । नेपाली संस्कृति, सामाजिकता, सकारात्मक भावनामा उभिने पार्टी एमाले भएकोले यस्ता घेराबन्दीबाट कसैले आत्तिनु नहुने उहाँले स्पष्ट पार्नुभयो । एमालेको खोइरो खन्ने बाह्य शक्ति भएको उहाँको भनाइ छ । 

एमाले कमजोर भयो भने नेपाललाई कठपुतली बनाउन पाइन्थ्यो भन्ने सोचाइ थुप्रैमा देखिन्छ, त्यसको निसाना पार्टी र यसका नेतृत्व भएको उहाँले बताउनुभयो । ‘नाकाबन्दीको सामना, गुमेको जमिनलाई नेपालको नक्सामा गाभ्ने काम र देशका लागि स्वभाविमान प्रदर्शन एमालेले गरेको हो उहाँले भन्नुभयो, “मुलुकमा स्थायित्वको खोजी गर्ने हामी हौं, एमाले कमजोर भएको भए देशलाई  कठपुतली र विदेशीको गीर खेल्ने ठाउँ बनाउथें । त्यो स्वार्थ पूरा गर्न एमालेले दिएको छैन । त्यसैले एमाले र यसको नेतृत्वप्रति हमला भइरहेको छ ।’


महासचिव पोखरेलले एमालेका मूल नेता र प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओलीप्रति हमला बढेकाले त्यसको प्रतिरोध गर्न सबैलाई उहाँले निर्देशन दिनुभएको छ । आज एउटा नेतालाई हमला गर्नेले भोलि अरुलाई नै बाँकी नराख्ने भएकाले त्यस्ता शक्तिहरूलाई आज निस्तेज पार्नुपर्ने उहाँको भनाइ छ । ‘प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा केपी शर्मा ओलीलाई आज आक्रमणको निशाना बनाइएको छ’ पोखरेलले भन्नुभयो  ‘आजै यसलाई निस्तेज नगरे भोलि अन्य नेतृत्वप्रति पनि यो निशाना सोझिन्छ ।’ 

उहाँले सामाजिक सञ्जालमा राजनीतिक भनाइहरू राख्दा माथि उल्लेख गरिएका चारै वटा शक्तिहरूले आक्रमण गर्ने गरेको बताउनुभयो । यस्तो आक्रमणबाट कति पनि हतोत्साहित नहुन कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । ‘राजनीतिक कुरा सामाजिक सञ्जालमा राख्दा गाली खाइन्छ, मुख छाड्छन् भनेर एमालेका केही  नेता कार्यकर्ताले  पास्नी, बिहे, पार्टी, पारिवारिक तस्बिर मात्र हालेको देख्छु’ महासचिव पोखरेलले भन्नुभयो  ‘एमालेहरूले यसो गर्न सुहाउँदैन । आफ्ना राजनीतिक  कुरा राख्ने र सामूहिक प्रतिवाद गर्ने काम हामीले गर्नुपर्दछ ।’