प्रवीण कुमार शर्मा
रौतहट, असार १२ गते । रौतहटबाट स्रोत नखुलेको रु १० लाख चार हजार पाँच सय रुपैयाँ रकम सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार बेलुका गौर नगरपालिका–१ ट्रान्सफर्मर चोकका ३० वर्षीय महम्मद करमान अलिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भन्सार सुरक्षा गार्ड रौतहटबाट खटिएको प्रहरी चेकिङ टोलीले भन्सार कार्यालय अगाडि सार्वजनिक सडक खण्डमा चेकिङको क्रममा अलिलाइ पक्राउ गरेको हो ।
बि आर ०५ एइ ६७०५ नम्बरको भारतीय मोटरसाइकलमा सवार अलिले मोटरसाइकलको सिटमुनि र हेल्मेटमा लुकाएर राखेको रु १० लाख चार हजार पाँच सय रुपैयाँ प्रहरीले बरामद गरेको हो ।
उक्त रकमको श्रोत खुलाउन नसकेकोले प्रहरीले अलिलाई उक्त रकम र मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि गौर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिनुभयो ।