• १२ असार २०८२, बिहिबार

पाँचथरमा भूमिहीन दलित र सुकुम्बासीका लागि जग्गा जाँच सुरु

blog

पाँचथरको हिलिहाङ–७ का भूमिहीन सुकुम्बासी र दलितलाई धनीपुर्जा दिन जग्गा नापजाँच हुँदै। तस्बिरः राधा लुइटेल

राधा लुइटेल

फिदिम, असार १२ गते। पाँचथरमा भूमिहीन दलित रसुकुम्बासीलाई जग्गा वितरणका लागि नापजाँच सुरु भएको छ। भूमि आयोग  जिल्लाको हिलिहाङ गाउँपालिका–७ भारपाबाट बिहीबारदेखि जग्गा नापजाँच सुरु गरेको हो।

भूमि आयोगबाट खटेका प्राविधिक, कर्मचारीसँगै आयोगका पदाधिकारी र गाउँपालिका नेतृत्वको उपस्थितिमा बिहीबार भारपा–७ का भूमिहीन दलित दुई र भूमिहीन सुकुम्बासी दुई गरी चार परिवारका लागि सल्लेरी नजिकै जग्गा नापजाँच भएको छ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले आवास र खेतीपातीका लागि सरदर ६ रोपनीका दरले जग्गा प्राप्त गर्नेछन्। योसँगै हिलिहाङ–७ सल्लेरीका अव्यवस्थित बसोबासीलाई समेत जग्गा धनीपुर्जा वितरणका लागि नापजाँच सुरु गरिएको आयोगले जनाएको छ।

हिलिहाङमा भूमिहीन दलित ११, भूमिहीन सुकुम्बासी ३७ र अव्यवस्थित बसोवासी ६ सय ८२ गरी कुल ७ सय ३० ले धनीपुर्जा प्राप्तीका लागि आवेदन दिएका छन्। उनीहरुलाई उपलब्ध गराउने जग्गा नापजाँचका लागि भूमि आयोगका प्राविधिकलाई फिल्डमा खटाइएको छ।

जग्गा नापजाँच सुभारम्भ कार्यक्रममा बोल्दै भूमि आयोगका जिल्ला अध्यक्ष धनकुमार फियाकले भूमिहीन र सुकुम्बासीसँगै अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न चुनौतीपूर्ण रहेपनि ढिला नगरी आयोगले काम अघि बढाउने प्रतिवद्वता जनाउनुभयो।

कार्यक्रममा हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले हिलिहाङका सुकुम्बासी र भूमिहीनलाई धनीपुर्जा दिन जनप्रतिनिधिले प्राविधिक र भूमि आयोगलाई सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा कांग्रेस पाँचथरका सभापति रुपनारायण जवेगू, एमालेका हिलिहाङ अध्यक्ष सन्तोष लिङदेन र माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक विशाल रसाइलीले भूमिहीनलाई जग्गा दिने प्रकृया थालेकोमा हिलिहाङ गाउँपालिका र भूमि आयोगलाई धन्यवाद ज्ञापन गर्नुभयो।