• १२ असार २०८२, बिहिबार

धनुषाको बटेश्वरमा आँप मेला

blog

आँप बजार पठाउन तयारी गर्दै । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, असार १२ गते । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा स्थानीय आँपको प्रवर्धन तथा बजारीकरण गर्ने उद्देश्यले दुई दिने आँप मेला लगाउने भएको छ । असार १४ र १५ गते आँप मेलाको आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ । 

स्थानीयस्तरमा उत्पादन हुने आँपलाई राष्ट्रिय पहिचान दिलाउन तथा नयाँ पुस्तालाई आँपका विविध जातबारे जानकारी दिन मेला आयोजना गर्न लागिएको मेला समितिका सदस्य फुलगेन मगहीले बताउनुभयो । उहाँले यो दोस्रो पटक मेलाको आयोजना गर्न लागिएको बताउँदै मेलामा स्थानीय किसानले उत्पादन गरेका विभिन्न जातका आँप र त्यसबाट बनेका परिकार प्रदर्शनीमा राखिने जानकारी दिनुभयो । 

उहाँका अनुसार आँपबाट बनेका जुस, अचारजस्ता परिकारको प्रदर्शनीमा राखिने छ । मेलाको घुम्न आउने आगन्तुकलाई निःशुल्क आँप खुवाउने, बगैँचामा घुमाउने, रुखबाटै आँप छानेर टिप्ने अनुभव दिलाउने, विद्यार्थीलाई विभिन्न जातका आँप चिनाउने जस्ता कार्यक्रम समेत राखिएको मगहीले जानकारी दिनुभयो। 

मगहीले चित्रपुर क्षेत्रमा हाल तिन सय बिघाभन्दा बढी जमिनमा फैलिएको आँपको बगैंचामा ४० भन्दा बढी जातका आँप उत्पादन हुने गरेको बताउँदै बटेश्वर गाउँपालिका पूर्व पश्चिम लोकमार्गको नजिक भएकाले यहाँ बाहिरी पर्यटक र यात्रीको आकर्षण बढाउने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको बताउनुभयो । 

स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न यो मेला प्रभावकारी हुने उहाँको भनाइ छ । एक तथ्याङ्क अनुसार आँप उत्पादनमा मधेश प्रदेशको ७७ दशमलव एक प्रतिशत योगदान रहेको छ ।