काठमाडौँ, असार १२ गते । यस वर्षको मनसुनमा मुलुकभर औसतभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा विभागका निर्देशक कमलराज जोशीले यो जानकारी गराउनु भएको हो ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरपूर्वी भाग र कर्णाली प्रदेशको पश्चिम भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । अन्य भूभागमा यो सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको उहाँले बताउनुभयो ।
निर्देशक जोशीका अनुसार नेपालमा वार्षिक औसत वर्षा १४९८.४ मिलिलिटर भए पनि गत वर्ष १६९१.३ मिलिलिटर वर्षा भएको थियो, जुन ११३ प्रतिशत हो । उहाँले मौसम पूर्वानुमानलाई लिएर मिडियामा आएको ‘३०-४० वर्ष यताकै धेरै पानी पर्छ’ भन्ने दाबीलाई सही नभएको समेत स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘यस वर्षको हामीले मौसमी पूर्वानुमान आँकलन गर्दा खेरी चाहिँ सरदरभन्दा बढी पानी पर्ने सम्भावना छ । सम्भवतः गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरपूर्वी भाग र कर्णाली प्रदेशको पश्चिम भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
अन्य देशका अन्य भूभागमा औसतभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म छ । यति हुँदाहुँदै पनि विपद् हुन्छ कि हुँदैन भन्ने कुरा महत्त्वपूर्ण हो । नेपालमा सरदर वर्षा हुने भनेको १४९८.४ मिलिलिटर हो भने पोहोर साल १६९१.३ मिलिलिटर पानी परेको छ । जुन भनेको ११३ प्रतिशत हो । यो वर्ष त्योभन्दा पनि बढी वर्षा हुने सम्भावना छ । तर मिडियामा ३०-४० वर्षभन्दा बढी पानी पर्ने भयो भनेर मिडियामा आएको छ । त्यस्तो चाहिँ होइन ।
पहिले चाहिँ दिनभर मसिनो पानी पर्ने हुन्थ्यो भने अहिले जलवायु परिवर्तनको असरका कारण २-३ घण्टामै धेरै ठुलो पानी पर्ने २-४दिन पानी परेर मनसुन ब्रेक भएको जस्तो हुने अवस्था छ ।’
जलवायु परिवर्तनका कारण वर्षाको ढाँचा बदलिएको बताउँदै उनले विपद् नहोस् भन्नेमा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।