काठमाडौँ, असार १२ गते । एएफसी एसियन कप छनोट–२०२६ मा भाग लिन उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले त्यहाँ तयारी गरेको छ ।
नेपाली टोली बुधबार उज्वेकिस्तान पुगेको थियो । टोलीले बिहीबारदेखि अन्तिम चरणको अभ्यास र तयारी गरेको हो । ३० डिग्री सेल्सियस गर्मी मौसमसँग घुलमिल हुन नेपाली टोलीले तयारी गरिरहेको छ ।
यही प्रतियोगिताबाट मुख्य प्रशिक्षक प्याट्रिक प्याट्रिक डे वाइल्डले नेपाली महिला टोलीमा अन्तर्राष्ट्रिय अनुभव बटुल्दै हुनुहुन्छ । उज्वेकिस्तान जानुअघि प्रशिक्षक वाइल्डले टोलीको लक्ष्य छनोट रहेकोले सोहीअनुसार प्रदर्शन गर्ने बताउनुभएको थियो ।
त्यसैले उहाँले टोलीका अहिले पुराना र अनुभवी खेलाडीलाई नै मौका दिनुभएको छ । छनोटमा नेपाल समूह ‘एफ’मा छ । यस समूहमा नेपालसँगै आयोजक उज्वेकिस्तान, लाओस र श्रीलङ्का छन् ।
नेपाले जुन २९ तारिख लाओसविरुद्ध खेल्दै छनोट चरणको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेल जुलाई २ तारिख श्रीलङ्का र अन्तिम खेल जुलाई ५ तारिख उज्वेकिस्तानसँग खेल्नेछ ।
छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने महिला एसिया कपमा छनोट हुनेछ ।
नेपाली महिला टोली
गोलरक्षक : एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना रानामगर र उषा नाथ ।
डिफेन्डर : अमृता जैशी, प्रतीक्षा चौधरी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई ।
मिडफिल्डर : अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर र सरस्वती हमाल ।
स्ट्राइकर : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल ।