• १२ असार २०८२, बिहिबार

चरित्र हत्या गर्ने प्रयास भएको फुङ्लिङ नगर प्रवक्ताको भनाइ

blog

पत्रकार सम्मेलनमा आफ्नो भनाइ राख्नुहुँदै फुङ्लिङ नगरका प्रवक्ता मोहन न्यौपाने । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १२ गते। ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताउनुभएको छ। आफूमाथि निराधार र गलत आरोप लगाउँदै कर्मचारीले बुधबार ‘पेन डाउन’ गर्नुका साथै विज्ञप्ति प्रकाशित गरेर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको प्रवक्ता न्यौपानेले दुःखेसो गर्नुभयो। 

बिहीबार बिहान पत्रकार सम्मेलन गर्नुहुँदै न्यौपानेले स्थानीय सरकारको सदन अर्थात् नगर सभामा राखेको आफ्नो धारणाप्रति प्रश्न उठाउँदै नगरपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति प्रकाशित गर्नु र पेन डाउन गरेर सेवा प्रवाह नगर्नु गलत भएको बताउनुभयो। वडा नम्बर २ का वडाध्यक्षसमेत रहनुभएका न्यौपानेले कर्मचारीले आफूमाथि लगाएको आरोप पुष्टि गर्न पनि चुनौती दिनुभएको छ।

उहाँले कसै कर्मचारीको नाम उल्लेख नगरी हस्ताक्षर मात्र गरेर आफूमाथि निराधार आरोप लगाउँदै विज्ञप्ति प्रकाशित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गर्नुभएको छ। संविधान, स्थानीय सरकार सञ्चालन ऐन, कोशी प्रदेशबाट पारित भएको गाउँसभा तथा नगरसभा सञ्चालन ऐनअनुसार नगरपालिकाको गएको मङ्गलबार भएको १८ औं नगर सभामा आफूले आफ्नो धारणा राखेको उहाँको भनाइ छ।

कार्यपालिका सदस्य वा नगर सदस्यको हैसियतले नगरसभामै आफ्नो धारणा राखेको र धारणा राख्ने क्रममा कोही कसै कर्मचारी लक्षित आफूले भनाइ पनि नराखेको उहाँले बताउनुभयो। उहाँले नगरसभामा भनाइ राख्दा अपमानित र अपहेलित हुनेगरी नबोलेको अर्थात कर्मचारीले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख गरेअनुसार कुनै  शब्द प्रयोग नगरेको बताउनुभयो। 

प्रवक्ता न्यौपानेले कर्मचारीले लगाएको सबैखाले आरोपको पुष्टि गर्न माग गर्नुभएको छ। यता प्रवक्ता न्यौपानेले नगरसभामा बोलेको भिडियो क्लिप अर्थात् श्रव्यदृश्य स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन्। उक्त भिडियो सामग्रीअनुसार कर्मचारीले प्रवक्ता न्यौपानेमाथि विज्ञप्ति नै प्रकाशित गरेर लगाएको आरोपसँग कुनै मेल नखाने रहेको छ। न्यौपानेको भनाइ सार्वजनिक भएपछि जनप्रतिनिधिमाथि गलत आरोप र आक्षेप लगाएर कर्मचारीले अराजकता प्रस्तुत गरेको भन्दै हाल सामाजिक सञ्जालहरु तताइएका छन्।

यता नगर प्रवक्ता न्यौपानेले पनि आफूमाथि लगाएको आरोपको स्पष्ट जवाफको माग गर्नुभएको छ। त्यस्तै हाल सामाजिक सञ्चालहारुमा छ्याप–छ्याप्ती श्रव्यदृश्य सामग्री हेरेर न्याय अन्याय छुट्याई दिन पनि नगारवासी तथा आम नागरिकलाई उहाँले आह्वान गर्नुभएको छ। व्यक्तिगत चरित्र हत्या गर्नेगरी भएको प्रयासउपर सही तथा गलत छुट्याई गतल गर्नेलाई कानुनी कारबाही र पीडितलाई उचित न्याय दिलाउनेगरी सचेत नागरिकको पहल रहने पनि उहाँले अपेक्षा राख्नुभएको छ।

फुङ्लिङ नगरपालिकाका कर्मचारीले नगरपालिकाको १८ औं नगर अधिवेशनमा प्रवक्ता न्यौपानेले आफूहरुमाथि अपमानित साथै अपहेलित व्यवहार गरेकोभन्दै बुधबार चार घण्टा अर्थात् बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म ‘पेन डाउन’ गरी काम ठप्प पारेका थिए। कर्मचारीले संयुक्त विज्ञप्ति नै प्रकाशित गरी नगरसभामा कर्मचारी किन आएको ? कस्ले बोलाएर आएको, कर्मचारीको के भूमिका रहन्छ ? जस्ता अभिव्यक्ति दिएको आरोप लगाएका थिए।

प्रवक्ता न्यौपानेले गल्ती महसुस गरी माफी नमागेसम्म थप आन्दोलन घोषणा गरी आन्दोलित हुने पनि कर्मचारीले विज्ञप्तिमा उल्लेख गरेका थिए। कर्मचारीले प्रवक्ता न्यौपानेमाथि लगाएको आरोप र गर्न खोजेको आन्दोलनको सामाजिक सञ्जालमा चौतर्फी आलोचना सुरु भएपछि बिहीबारदेखि कर्मचारीहरु काममा फर्केका छन्। 

यता फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले पदाधिकारीसँगको छलफलमा सानो कुरालाई ठूलो विषय नबनाऔं भन्ने भएपछि कर्मचारी काममा फर्केको बताउनुभयो। बेला बेलामा कर्मचारी र जनप्रतिनिधिबिच टकराब सिर्जना हुने गरेको बताउनुहुँदै प्रमुख प्रशासकीय अधिकृत गौतमले आर्थिक वर्ष समाप्तिको समयलाई दृष्टिगत गरी कर्मचारीले काममा फर्कनुपरेको बताउनुभयो।