• १६ भदौ २०८१, आइतबार

ग्वार्को ‘फ्लाइओभर’ को नयाँ डिजाइन

blog

ललितपुर, भदौ २१ गते । ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत भएको छ । नयाँ डिजाइन स्वीकृत भएसँगै अब सो ‘फ्लाइओभर’ को निर्माण अगाडि बढ्ने दाबी गरिएको छ । यसअघि तयार गरिएको डिजाइनमा समस्या देखिनुका साथै डिजाइन अनुसार उपकरण उपलब्ध नहुने भएपछि पुनः डिजाइन गरिएको थियो । यसरी तयार गरिएको नयाँ डिजाइन सडक विभागले स्वीकृत गरेको हो ।

सडक विभाग अन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनले उपलब्ध हुन सक्ने उपकरणका आधारमा तयार पारिएको नयाँ डिजाइन स्वीकृत भएको जानकारी दिनुभयो । डिजाइन अनुसारका उपकरण उपलब्ध हुन नसक्ने भन्दै माघको अन्तिम हप्ता काम सुरु गरिएको सो फ्लाइओभर निर्माण असारमा रोकिएको थियो ।

उहाँले भन्नुभयो, “नयाँ डिजाइन अनुसार फ्लाइओभरमा जमिनमुनि गाडिने पाइलको सङ्ख्या बढेको छ भने गहिराइ र डायमिटर घटेको छ । पहिलाको डिजाइन अनुसार ‘फ्लाइओभर’ को पाइलको सङ्ख्या दुवैतिर चार÷चार वटा, गहिराइ ३४ मिटर र डायमिटर १.५ मिटर कायम गरिएको थियो तर नयाँ डिजाइन अनुसार पाइलको सङ्ख्या दुवैतिर १२÷१२ वटा कायम गरिएको छ । त्यसै गरी प्रत्येक पाइलको गहिराइ घटाएर ३० मिटर र डायमिटर १.२ मिटर कायम गरिएको छ ।” उहाँका अनुसार ‘फ्लाइओभर’ को मुख्य संरचनाको डिजाइनमा कुनै पनि परिवर्तन गरिएको छैन ।

सो ‘फ्लाइओभर’ निर्माणका लागि भारतमा उपलब्ध उपकरणका आधारमा नयाँ डिजाइन गरिएको उहाँले स्पष्ट पार्नुभयो । उपलब्ध उपकरणले ३० मिटर गहिराइसम्म मात्र पाइल राख्न सक्ने क्षमताको भएकाले सोही अनुसारको डिजाइन स्वीकृत गरिएको हो । गहिराइ घटाइएकाले भार थेग्नमा कुनै समस्या नहोस् भनेर पाइलको सङ्ख्या बढाइएको इन्जिनियर महर्जनले स्पष्ट पार्नुभयो । इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा सो ‘फ्लाइओभर’ को निर्माण सुरु गरिएको हो । यस मोडेल अनुसार निर्माण कम्पनीले नै आयोजनाको ‘सर्भे, डिजाइन र कमिसनिङ’ गर्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “इपिसी मोडेलमा सडक विभागले स्वीकृति दिए पनि त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण कम्पनीको नै हुन्छ ।” 

आयोजनाको लागत बढे पनि त्यसको जिम्मेवार सम्बन्धित निर्माण कम्पनी नै हुने र त्यसमा सरकारले कुनै दायित्व बेहोर्नु नपर्ने उहाँको भनाइ छ । अब स्वीकृत डिजाइन अनुसार ‘फ्लाइओभर’ को निर्माण ‘ननस्टप’ अगाडि बढ्ने उहाँले दाबी गर्नुभयो ।

अन्तर्राष्ट्रिय मापदन्ड अनुसार नै ‘फ्लाइओभर’ को उचाइ छ मिटर हुने केन्द्रले जनाएको छ । बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि ‘फ्लाइओभर’ पुगिने छ । त्यतातर्फ २८० मिटर लामो ‘¥याम’ हुने र सातदोबाटोतर्फ झर्न १७५ मिटर लम्बाइको ‘-याम’ हुने बताइएको छ । ‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइको हुने ‘फ्लाइओभर’ को जम्मा लम्बाइ ४९० मिटर हुने छ । मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारीसाधन पुलमुनिबाट जाने छन् भने माथि चव्रmपथतर्फ जाने सवारीसाधन सिधै चल्ने बताइएको छ ।

कुल १७ करोड ६८ लाख रुपियाँ लागत रहेको यस ‘फ्लाइओभर’ निर्माणको ठेक्का आरसी÷समानान्तर÷रेलिग्रे (संयुक्त) ले पाएको छ । अन्तर्राष्ट्रिय मापदन्ड अनुसार नै ‘फ्लाइओभर’ को उचाइ छ मिटर हुने केन्द्रले जनाएको छ ।