• २६ वैशाख २०८१, बुधबार

क्वाँटी सबै उमेर समूहलाई लाभदायी

blog

काठमाडौं, भदौ १४ गते । हरेक चाडपर्वको आ–आफ्नो विशेषता हुन्छ । चाडबाडको अवसरमा विभिन्न पकवान पाक्ने गर्दछन् । अन्य चाडबाड जस्तै जनैपूर्णिमा विभिन्न गेडागुडी उमारेर क्वाँटी बनाएर खाने प्रचलन छ ।

पोषणविद् उमा कोइरालाका अनुसार चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठुलो सिमी, ठुलो केराउ, सानो केराउलगायतका गेडागुडी मिसाएर टुसा आएको गेडागुडीलाई पकाएको झोलिलो खानेकुरालाई क्वाँटी भनिन्छ ।

उहाँले भन्नुभयो, “विभिन्न नौ थरीका गेडागुडीलाई रातभरि पानीमा भिजाएर भोलि पल्ट सुख्खा बनाएर एउटा भाँडोमा तीन चार दिन राखेपछि टुसा उम्छन् । टुसा उम्रिएका गेडागुडीलाई पकाएर सुप बनाएर खाइने खानेकुरालाई क्वाँटी भन्ने गरिन्छ ।”

“क्वाँटी” शब्द नेपालभाषाको “क्वाति” शब्दबाट बनेको हो, जसको अर्थ “क्वा” भनेको तातो र “ती”भनेको झोल वा सुप भन्ने गरिन्छ । नेपाल कृषिप्रधान देश भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको मान्यता छ । टुसा उम्रिएका गेडागुडी भिटामिन र मिनरल्सको स्रोत भएकाले स्वास्थ्यका लागि निकै फाइदाजनक हुने कोइराला बताउनुहुन्छ ।

क्वाँटीमा पोषक तत्त्व प्रोटिन, आइरन, फाइबर,पोटासियम, फस्फोरस, म्याग्नेसियम र एन्टी अक्सिडेन्ट जस्ता पोषण तत्त्व पाइने हुँदा दैनिक क्वाँटी खान कोइरालाको सुझाव छ । क्वाँटी सबै उमेर समूहलाई निकै फाइदा जनक मानिन्छ । गर्भवती, सुत्केरी, युवा, बालबालिकाका लागि निकै लाभदायी मानिन्छ । यसमा कार्वोहाईड्रेड र चिनीको मात्रा कम हुने हुँदा मधुमेहका बिरामीका लागि उपयुक्त हुने कोइराला बताउनुहुन्छ ।

उच्चरक्तचाप, मिर्गौलाका बिरामीले चिकित्सकको सल्लाहमा मात्रै क्वाँटी खान उहाँको आग्रह छ । क्वाँटीका विभिन्न फाइदा हुन्छन् । रेसादार हुने हुँदा कब्जियत हुनबाट रोक्छ, रोग प्रतिरोधात्मक शक्ति बढाउनुका साथै बालबालिका तथा वृद्धवृद्धालाई कुपोषण हुनबाट बचाउन सकिन्छ । जनैपूर्णिमाको अवसर पारेर क्वाँटी खानुका फाइदा र बेफाइदाका विषयमा केन्द्रित भएर पोषणविद् उमा कोइरालासँग गोरखापत्र अनलाइनका लागि तयार पारिएको भिडियो रिपोर्ट:

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।