हेटौँडा समाचारदाता
हेटौँडा, भदौ १४ गते । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रादेशिक अस्पतालका सबै सामान्य श-या निःशुल्क गर्ने निर्णय कार्यान्वयन हुनुलाई सबैभन्दा महत्त्वपूर्ण उपलब्धि भएको बताउनु भएको छ । मन्त्रीस्तरीय निर्णयबाट बागमती प्रदेशभित्र रहेका १३ वटा प्रादेशिक अस्पतालका आइसियु, एनआइसियु र क्याबिनबाहेकका सबै श-या भदौ १ गतेदेखि निःशुल्क गरिएको छ ।
स्वास्थ्यमन्त्री जोशीले आफू नियुक्त भएपछि सय दिनमा सम्पादन भएका कामको उपलब्धि बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुभएको हो ।
प्रादेशिक अस्पतालमा ८११ श-या निःशुल्क उपलब्ध छन् । ३२ बुँदे उपलब्धिका बारेमा जानकारी गराउँदै प्रदेशभित्रका सबै आयुर्वेदिक अस्पतालबाट फिजियोथेरापी र साइकोथेरापी सेवा पनि निःशुल्क गरिएको बताउनुभयो । सयदिने अवधिमा प्रदेशभित्रका करिब साढे छ सय असहाय, सीमान्तकृत र लोपोन्मुख नागरिकको स्वास्थ्य मन्त्रालयमार्फत स्वास्थ्य बिमा गराइएको उल्लेख छ ।
उहाँले भन्नुभयो, “सबैले सहज स्वास्थ्य सेवा पाउने गरी काम गर्न अस्पताललाई निर्देशन दिइसकेको छु ।”
जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक अस्पतालमा डेङ्गु परीक्षणलाई निःशुल्क गरिएको उपलब्धिमा उल्लेख छ ।
उहाँले नीतिगत उपलब्धि पनि सार्वजनिक गर्नुभएको छ । गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धारसम्बन्धी कार्यविधि निर्माण भएको, मन्त्रालय र मातहतका कार्यालयबाट सञ्चालन हुने कार्यक्रम कार्यान्वयन मार्गदर्शन तयार र कार्यान्वयनमा गएको छ ।