कीर्तिपुर, भदौ १३ गते । लामो समय वामपन्थी आन्दोलनमा रहनुभएका नेता तथा कार्यकर्ताहरू नेकपा (माओवादी केन्द्र) मा समाहित हुनुभएका छन् ।
यहाँस्थिति कीर्तिपुर सामुदायिक भवनमा बुधबार आयोजित कार्यक्रममा वामपन्थी नेत्री लक्ष्मी श्रेष्ठ र नेकपा (एमाले)का पूर्वकेन्द्रीय सदस्य शम्भुराम महर्जन माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।
सो कार्यक्रममा उहाँहरूलाई स्वागत गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता सूर्य सुवेदीले अहिलेको सरकारले विगतमा गर्न नसकेका धेरै सुधारका कामले जनताको आशाको त्यान्द्रो पलाएको बताउनुभयो ।
सरकारले एकपछि अर्को गुणात्मक काम गरेर जनतालाई प्रत्यक्ष लाभ हुने काममा केन्द्रित हुँदै नयाँ संविधानमा उल्लेख भएको समाजवाद उन्मुख नेपाल निर्माणको दिशामा वर्तमान सरकार अग्रसर रहेको औँल्याउनुभयो ।
सरकारले जनताको चाहनाअनुसार आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै सुशासन, समृद्धि, सामाजिक न्याय र विकासका योजनालाई अगाडि बढाउनुको अर्को विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘जनचाहनाअनुसार सिंहदरबारको सत्ता जनताको घरघरमा पुर्याइसकेकाले सरकारले गरेका राम्रा कामहरूलाई पनि जनताको घरघरमा पुर्याउन आवश्यक छ ।’’
आन्दोलनका उपलब्धिहरूलाई नयाँ संविधान बनाएर संस्थागत गर्न र जनताका समस्या बुझेर भावी योजना बनाउन आवश्यक भएर ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ सुरु गर्न लागेको बताउनुभयो ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमसहित सुशासन, सङ्घीयता कार्यान्वयन, समावेशीतालगायतका मुद्दाहरूलाई जनतासमक्ष पुर्याउन भदौ १६ गते ७५३ वटा स्थानीय निकायका छ हजार वडाहरूमा एकैपटक तीन महिने अभियान उद्घाटन गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो ।
सो कार्यक्रममा पार्टी प्रवेश गर्नुभएका वामपन्थी नेत्री श्रेष्ठले सरकारले गरेका भ्रष्टाचार विरोधी कदमहरू, जनपक्षी सुशासन, समृद्धि, सामाजिक न्याय र विकासका योजनाका कारणले मुलप्रवाहमा समाहित भएको बताउनुभयो ।
नेत्री श्रेष्ठ तत्कालीन नेकपा (माओवादी) को वि.सं २०६२ मा फुन्टिवाङ बैठकपछि केन्द्रीय सदस्य बन्नुभएको थियो ।
यस्तै, नेकपा (एमाले) का पूर्वकेन्द्रीय सदस्य महर्जनले वामपन्थीहरूको गढको रूपमा रहेको कीर्तिपुरलाई पुनः एक पटक माथि उठाउन सकिन्छ, भन्नुभयो ।
वामपन्थी नेता महर्जन कीर्तिपुर बाहिरीगाउँ पञ्चायतका वडाध्यक्ष हुँदै नेकपा (एमाले)का पूर्वकेन्द्रीय समेत बन्नुभएको थियो ।