• ३० वैशाख २०८२, मङ्गलबार

बेपत्ताको पहिचान नहुँदा अवसरबाट वञ्चित

blog

दिवसका अवसरमा मैनबत्ती प्रज्ज्वलन गरिदै । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, भदौ १३ गते । १० वर्षे जनयुद्धका क्रममा बेपत्ता पारिएकाहरूको  पहिचान नहुँदा अवसरबाट वञ्चित भएको गुनासो गरेका छन् । तुलसीपुर उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी दाङले आज आयोजना गरेको कार्यक्रममा पीडित परिवारका सदस्यले सो गुनासो गर्नुभएको हो । 

बेपत्ता पारिएका परिवारका सदस्यले बेपत्ताका विषयमा तत्काल जानकारी दिएर कानुनी रूपमा परेको व्यवधान समस्या समाधानका लागि सरकारसँग आग्रह गर्नुभयो ।  

तुलसीपुर उपमहानगरपालिका वडा १९ दोघर्रेकी शोभा चौधरीले ससुरा बेपत्ता भएको २१ वर्ष पुग्दा समेत उहाँको बारेमा कुनै जानकारी नआएको बताउनुभयो । उहाँको बारेमा कुनै जानकारी नआउँदा आफ्नै सम्पत्ति उपभोगमा समेत समस्या परेको उहाँको भनाइ छ । 

त्यस्तै, दंगीशरण गाउँपालिकाका मसुरी चौधरीले श्रीमान् बेपत्ता भएपछि सन्तानको पालनपोषण र शिक्षादीक्षामा समेत भएको बताउनुभयो । राज्यले सन्तानका लागि निःशुल्क रूपमा शिक्षाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले बेपत्ता पारिएका सन्तानलाई  निःशुल्क रूपमा पठनपाठनको व्यवस्था गरिएको बताउनुभयो । 

बेपत्ता पारिएका परिवारका सदस्यलाई पालिकामा स्वरोजगारका लागि पहिलो प्राथमिकता दिने उहाँले बताउनुभयो । नगरप्रमुख खड्काले बेपत्ता पारिएका परिवारका सदस्यलाई आयआर्जनका क्रियाकलापमा समेत जोडिने बताउनुभयो ।

जनयुद्धका क्रममा दाङमा राज्य र तत्कालीन विद्रोही पक्षबाट ८१ जना बेपत्ता पारिएका थिए । मानव अधिकारकर्मी सुशील बस्नेतले बेपत्ता पारिएका परिवारका सदस्यलाई राज्य पक्षबाट जीविकोपार्जनका लागि र सन्तानको शिक्षादीक्षाका लागि विशेष व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।