• २० असोज २०८१, आइतबार

कुलाम्मे देवताहरुको तीर्थस्नान

blog

तीर्थस्नानको लागि ताम्रावर्णी नदीमा पुगाएर घरतर्फ ल्याइदै र अविर टीकाले सजिएका तीर्थालुहरु । तस्बिर : विष्णुप्रसाद देवकोटा

विष्णुप्रसाद देवकोटा

डोल्पा, भदौ १३ गते । कुलाम्ह देवतालाई विभिन्न धार्मिक क्षेत्रको दर्शन तथा गंगास्नान गराएर पवित्र बनाइ पूजाआजा गरिएको छ । यहाँको प्रसिद्ध मन्दिर गल्ली भवानी मष्टा, छल भवानी मष्टा त्रिपुराकोटमा रहेका बाविरो र धामाघाडी, लिकुको विजुल डाँडो, दुनैका गुप्त मातालगायतका देवीदेवतालाई तीर्थस्नान गराउने काम भएको हो । 

तीर्थस्नानबाट आएका धामी झाँक्रीसहित देवतालाई फुलमाला अबिर टीकाले अर्र्छोपर्छो गरेर बाजागाजाका साथ स्थानीय बासिन्दाले घर भित्र्याएका छन् । लिकुस्थित विजुल डाँडा देवतालाई स्थानीयले मुक्तिनाथ पुगाएर पवित्रस्थलको दर्शन तथा स्नान गराएर ल्याइएको छ ।

यसअघिका वर्षमा नेपालको मुक्तिनाथ डोल्पाकै ब्यासरिसी जुम्लाको बुडु भारतको गयाजी, काशीलगायतका पवित्र तीर्थस्थलमा पुगेर देवतालाई स्नान गराएर ल्याइने गरेकोमा यो पटक गल्ली भवानी मष्टा दुनैका गुप्त मातालाई जिल्लाकै ताम्राबर्णी नदीमा तीर्थस्नान गराएर ल्याइएको स्थानीय आकाश उपाध्यायले जानकारी दिनुभयो ।

हरेक वर्षझैँ यसवर्ष पनि हिमाली जिल्ला डोल्पामा धार्मिकपिठको रूपमा रहेका मठमन्दिरमा विराजमान गरिएका र घरमै मुर्तिस्थापना गरेर पूजा गर्दैआएका कुलाम्य देवतालाई तीर्थ स्नान गराउन विभिन्न क्षेत्रमा रहेका पवित्र तीर्थस्थलमा लगिएको थियो ।

साउन महिना लाग्नेवित्तिकै मन्दिरका देवता तथा कुलाम्य देवताका मूर्ति तथा पूजाआजा गरिदैआएका शालिग्रामलाई विशेष पूजाआजा र स्वागत गरी पवित्र देवस्थलमा लगेर स्नान गरिने गरिन्छ ।

साउन महिना वर्षा र देवताको लागि पवित्र स्नानको समय मानिन्छ । वर्षभरिमा पूजाआजा गर्दा अशुद्ध भएमा र देवताको तेजोबध हुन गएको भए पनि पवित्र तीर्थस्थलको दर्शन तथा स्नान गराएमा शक्ति प्राप्तिका साथै तीर्थस्नानमा जाने धामी झाँक्री तथा भक्तजनमा मोक्ष प्राप्त हुने जनविश्वास रहेको गल्ली भवानी मष्टाका पुजारी नन्दसिंह थापाले बताउनुभयो ।