राममणि दाहाल
हेटौँडा, भदौ ५ गते । हेटौँडा उपमहानगरपालिकाले हेटौँडामा मातृ शिशु सेवा सञ्चालनका लागि तयारी थाल्न हेटौँडा अस्पताललाई सहयोग उपलब्ध गराउने भएको छ ।
हेटौँडामा मातृ शिशु सेवा सञ्चालनका लागि भवन निर्माण गर्न उपमहानगरपालिका र हेटौँडा अस्पताल व्यवस्थापन तथा विकास समितिबीच मङ्गलबार भवन निर्माण सहयोगसम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार उपहानगरले अस्पताल विकास समितिलाई ८० लाख रुपियाँ मातृ शिशु सेवा कक्ष निर्माण गर्न सहयोग प्रदान गर्नेछ । उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले भवन निर्माण सम्झौतासँगै चालु आर्थिक वर्ष २०८०–८१ बाट अस्पतालको नयाँ भवनको माथिल्लो तल्लामा मातृशिशु कक्ष निर्माण गर्ने सम्झौता भएको जानकारी दिनुभयो ।
नगर प्रमुख लामाले जिल्लामा व्यवस्थित अस्पताल सञ्चालन गर्नसके उपचारका लागि बाहिरी जिल्लामा जानुपर्ने अवस्थाको अन्त्य हुने भन्दै उपमहानगरले लिएको नीति तथा कार्यक्रमअनुसार हेटौँडामा मात्रृशिशु (प्रसुति) अस्पताल सञ्चालन गर्न पहिलो चरणको काम सुरु गरेको बताउनुभयो ।
तीन किस्तामा उपमहानगरपालिकाले निकासा गर्ने बजेटबाट अस्पताल व्यवस्थापनले ठेक्कामार्फत भवन निर्माण गर्नुपर्ने छ । अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँले आगामी चैतसम्ममा भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भवन निर्माण कार्य अघि बढाइने बताउनुभयो ।
उहाँले पछिल्लो समयमा अस्पतालको स्वास्थ्य सेवा प्रवाहमा सुधार हुँदैगएको र सेवा लिने सेवाग्राहीको सङ्ख्या अघिल्ला वर्षको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको बताउनुभयो ।
चालू आवमा एक तल्ला पूर्वाधार निर्माणका लागि रकम विनियोजन भएको हो । अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँ र उपमहानगरपालिकाको पूर्वाधार विकास महाशाखा प्रमुख सत्यनारायण शाहबीच भवन निर्माण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।