• १३ साउन २०८१, आइतबार

विपन्न परिवारलाई कुखुरापालन सामग्री वितरण

blog

कुखुरापालनका लागि चल्लासहितको सामग्री वितरण गर्दै । तस्बिर : सिराज खान ।

सिराज खान 

नेपालगन्ज, भदौ ५ गते । कतार च्यारेटी नेपालले बाँके जिल्लाका अति विपन्न परिवारलाई आय आर्जनका लागि कुखुरापालनमा विभिन्न सहयोग गरेको छ । बाँके युनेस्को क्लबसँगको साझेदारीमा च्यारेटीले जिल्लाका खजुरा र राप्तीसोनारी गाउँपालिकाका अति विपन्न २१ परिवारलाई आयआर्जनका लागि चल्ला, दाना, भाडा वर्तन, खोर निर्माणका लागि जस्तापाता लगायतको सहयोग प्रदान गरेको हो । 

दोस्रो फेजको नेपाल एकीकृत विकास कार्यक्रम अन्तर्गत बाँकेको खजुरा र राप्तीसोनारी गाउँपालिकाका-२१ विपन्न परिवारलाई कुखुरा पालनका लागि चल्लासहित विभिन्न सामग्री वितरण गरिएको कतार च्यारेटी नेपालले जनाएको छ । 

बाँके क्षेत्र नम्बर २ का सङ्घीय सांसद डा. धवल शमशेर राणा, प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्धिकीले एक कार्यक्रमकाबीच विपन्न परिवारलाई चल्लासहितको सामाग्री वितरण गर्नुभयो । सो अवसरमा बोल्दै सङ्घीय सांसद डा. राणाले आय आर्जनका लागि गरिएको यो सहयोग निकै उत्कृष्ट रहेको जनाउँदै यसबाट लाभ लिन विपन्न परिवारलाई आग्रह गर्नुभयो । 

क्लबका अध्यक्ष रवि तुलाधरले दुई गाउँपालिकाका विपन्न र गरिब परिवारको छनोट गरेर कुखुरा पालनका लागि सहयोग गरिएको जनाउँदै यो सहयोगको सदुपयोग गर्न अनुरोध गर्नुभयो । सो अवसरमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, पदाधिकारीहरू, बागेश्वरी बहुउदेश्यीय कृषि सहकारी खजुराका अध्यक्ष कमला न्यौपाने लगायत प्लान नेपाल र बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । 

क्लबका अनुसार कुखुरा पालनका लागि वितरण गरिएको सामग्रीहरूमा प्रत्येक परिवारलाई २८ दिनका तीन वटा खोप लगाइएका १५० वटा चल्ला, आठ बोरा दाना, पानी खाने भाँडो ३ वटा, दाना खाने भाँडो ३ वटा, खोर निर्माणमा सहयोगका लागि ५ वटा जस्तापाता, १० मिटर फलामको जाली गरेर एक परिवारलाई ६६ हजार १५० रुपियाँ बराबरको सामग्री रहेको छ । 

चल्लासहितको सो सहयोग पाउने विपन्न परिवारका अगुवाहरूलाई कुखुरा पालनका बारेमा अभिमुखीकरण पनि गरिएको क्लबका अध्यक्ष तुलाधरले बताउनुभयो ।