बाँके समाचारदाता
बाँके, भदौ ५ गते । बाँकेको नरैनापुरमा बहुमुखी क्याम्पस स्थापनाको पहल अघि बढेको छ। स्थानीय युवाको अग्रसरतामा भएको एक बृहत् भेलाले क्याम्पस स्थापनाका लागि पहल अघि बढाउने निर्णय गरेको हो।
स्थानीय अगुवा विनय दीक्षितका अनुसार, उक्त भेलामा सहभागी तिनै तहका जनप्रतिनिधिले क्याम्पस स्थापना अनिवार्य रहेको बताउनुभएको छ। प्रतिनिधि सभा सदस्य सूर्य ढकालले सडकलगायतका अन्य भौतिक पूर्वाधार निर्माणको कार्यसँगै पालिकाभित्र कम्तीमा एउटा क्याम्पस अपरिहार्य रहेको बताउनुभयो।
सांसद ढकालले भन्नुभयो, “उच्च शिक्षा अध्ययनका लागि टाढा जानुपर्ने बाध्यता हटाउन यहीँ क्याम्पस निर्माण गरिनु पर्छ, त्यसका लागि निर्वाचित जनप्रतिनिधिका रूपमा अगुवाइ गर्न तयार छु।”
उहाँले क्याम्पस स्थापनाका लागि अन्य स्रोत जुटाउन नसके प्रतिनिधि सभा सदस्यका लागि विनियोजित क्षेत्र विकास कार्यक्रमको बजेटबाट भए पनि कामको सुरुवात गर्न सकिने बताउनुभयो।
प्रदेश सभा सदस्य कृष्णा केसीले नरैनापुरमा उच्च शिक्षा अध्ययनका लागि क्याम्पस स्थापना आवश्यक रहेकाले प्रदेश सरकारमार्फत पनि सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो। गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरमा पछिल्लो समय सबैभन्दा टड्कारो आवश्यकता क्याम्पसको रहेको बताउनुभयो।
नरैनापुर मधेशी र मुस्लिम समुदायको बाक्लो बसोबास रहेको पालिका हो। हाल सडक, विद्युतीकरणपछि सदरमुकामसँग जोडिएको यो पालिकाका विद्यार्थी अहिले पनि उच्च शिक्षाका लागि सदरमुकाम नेपालगन्ज तथा भारत जानुपर्ने बाध्यता रहेको छ।
भेलाले स्थानीय सोहनलाल यादवको अध्यक्षतामा क्याम्पस स्थापना र सञ्चालनका लागि समिति गठन गरेको छ। समितिले क्याम्पसका लागि आवश्यक जग्गा पहिचान र उपलब्धता, सम्बन्धन तथा सहयोग जुटाएर निर्माण कार्य समेत गर्ने छ।