• ३० वैशाख २०८२, मङ्गलबार

पुस्तौँ देखि बस्ती स्थानान्तरणको परखाईमा गुम्लाबासी

blog

पुस्तौँ देखि पहिरोको जोखिम रहेको गुम्लागाउँ । तस्बिर ः शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, वैशाख ३० गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका – ७ का गुम्लाबासी बस्ती स्थानान्तरणको परखाईमा रहेका छन् । २०२२ देखिको पहिरोको निकै उच्च जोखिममा रहँदै आएको यो गुम्ला गाउँ बस्ती अझै स्थानान्तरण हुन सकेको छैन ।

लामो समय देखिको बस्ती स्थानान्तरण नहुँदा यहाँका स्थानीयलाई हिउँद बर्खाको समयमा ज्याज जोगाउन समेत कठिन हुने गरेको छ ।

बस्ती स्थानान्तरणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार हारगुहार गर्दै आएको भए पनि हाम्रो माग भने कसैले पुरा नगरिदिएको यहाँका स्थानीयले दुखेसो गर्दै आएका छन् ।

हुन पनि हिउँदको सुख्खा समयमा पनि यहाँ पहिरो निरन्तर बगिरहन्छ । बर्खाको बेलमा त कुरै नगरौँ । यहाँ झन्डै दुई सय घरपरिवारको बसोबास छ । अहिले आधा गाउनै उठी सक्यो । पहिरोले बस्ती खाली गर्दै गएको छ । तर पनि यहाँ कसैको नजर भने गएको छैन ।

बाध्यताले यहाँका बसोबास गरेका छौ । यहाँ देखि उठेर जाऊँ जाने ठाउँ कतै छैन । यही पहिरो सँग मितेरी लगाएर सँगै बसोबास गरेका छौ । कुन दिन मित्रता टुट्ने हो । केही थाहा नभएको  खप्तड छेडेदह गाउँपालिका – ७ गुम्लागाउँका स्थानीय विष्णुबहादुर रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अव बर्खा लाग्न सुरु भयो । हिउँदमा त घरमा राम्रो सँग सुत्ने गरेका थिए । बर्खाको पानी पर्ने वित्तिकै पहिरो बग्न सुरु हुन्छ । यसरी पहिरो बगेपछि कती खेर परिहोमा परिनेले घर नै बगाउने हो भन्ने डर हुन्छ ।” हाम्रो यो अवस्था निकै दयनीय रहेको छ । यो अवस्था देखेर सरकारले कतै बास बस्नका लागि व्यवस्था गरिदिन पाए पहिरोको डर नहुने रावतले बताउनुभयो ।

यस्तै बजेडीका स्थानीयवासी पनि यही पहिरोकै डरैडरमा रात काट्दै आइरहेका छन् । पहिरोका कारण यहाँका झन्डै ९० घरपरिवार पहिला नै विस्थापित भइसकेका छन् भने १३५ घर परिवार अझैँ पहिरोको उच्च जोखिममा छन् ।

यहाँका स्थानीयले पनि सरकार सँग धेरै पटक माग राख्दै आएका छन् । तर पनि उनीहरूको यो समस्या कतै देखि हल भएको छैन । पहिरोका कारण यहाँको झन्डै सात हजार रोपनी जमिन बगरमा परिणत भएको छ भने अझै पहिरो नरोकिएकोले यहाँका स्थानीयको नै उठीबास हुने अवस्था छ ।

अहिले यहाँका स्थानीय साइरनको साहारामा गाउँमा बास गर्दै आएका छन् । साइरनले पहिरो आएको गएको बारेमा जानकारी दिने भएकोले उनीहरू यसैको साहारामा गाउँमा बस्ने गरेका हुन् ।

यो मेसिनले पहिरो आएको बेला झन्डै एक किलोमिटर टाढासम्म आवाज दिने गर्छ । बजेडीका स्थानीयलाई मात्र नभई खप्तड छेडेदह गाउँपालिकाको गुइबनबासीलाई पहिरोबाट सतर्क गर्न सक्ने बुढीगङ्गा नगरपालिका –२ का स्थानीय धर्मराज जोशीले बताउनुभयो ।

पहिरोको जोखिम परेर स्थानान्तरण गर्नु पर्ने गाउँ बस्ती स्थानान्तरणका लागि गृह मन्त्रालयमा जानकारी गरेको भए पनि उता देखि अहिले यसको बारेमा केही खबर नआएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।