विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख ३० गते । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले निजी तथा संस्थागत विद्यालयहरूको अनुगमन सुरु गरेको छ । उच्च अदालत जनकपुर राजविराज इजलासले अनुमति विनाको थप कक्षा सञ्चालन नगर्न नगराउन आदेश दिएपछि समन्वय इकाईले अनुगमन सुरु गरेको हो ।
अदालतले वैशाख १९ मा अनुमति विनाको कक्षा सञ्चालन नगर्न नगराउन आदेश दिएको थियो । अदालतको आदेश कार्यान्वयन गर्न जिल्लामा विद्यालयहरूको अनुगमन सुरु गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख शशीकुमार यादवले बताउनुभयो । अनुगमनको क्रममा आइतबार सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा आधा दर्जन निजी विद्यालयहरूले अनुमति नलिएर कक्षा सञ्चालन गरेको पाइएको छ ।
अनुगमन टोलीले हनुमाननगर बजार क्षेत्रका निजी तथा संस्थागत विद्यालयहरूको स्थलगत निरीक्षण गर्दा आधा दर्जन विद्यालय मापदण्ड विपरीत अनुमति पाएको भन्दा माथिल्लो तह सम्मको कक्षा सञ्चालन गरेको पाइएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका शाखा अधिकृत कमलनाथ यादवले जानकारी दिनुभयो ।
मापदण्ड विपरीत सञ्चालनमा रहेको विद्यालयहरूमा शिक्षा दीप बेडिङ स्कुलले कक्षा २ सम्मको मात्र अनुमति लिएर कक्षा ५ सम्म पठन पाठन गराई रहेको, गौतम बुद्ध आइडियल स्कुलले पूर्व प्राथमिक तहको अनुमति लिएर कक्षा ५ सम्म, ग्रीन ल्यान्ड एकेडेमीले कक्षा १ को अनुमति लिई कक्षा ४ सम्म पठन पाठन गराई रहेको पाइएको छ ।
यस्तै आनन्द प्राइभेट एजुकेसनल गुठीले कक्षा १ को अनुमति लिएर कक्षा ८ सम्म, आरपी मेमोरियल स्कुलले कक्षा १ को अनुमिति लिएर कक्षा ७ सम्म तथा ब्राइट फ्युचर एकेडेमीले अनुमति नै न लिएर कक्षा ३ सम्मको पठनपाठन गराउँदै आएको शाखा अधिकृत यादवले बताउनुभयो । जुनसुकै विद्यालयले कक्षा थप गर्नुअघि अनिवार्य रूपमा नगरपालिकाबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।
“अनुमति विना कक्षा सञ्चालन गर्नु शिक्षा ऐन तथा नियमावलीको उल्लङ्घन मात्रै नभएर ठगी गर्नु पनि हो” यादवले भन्नुभयो । उहाँले वैशाख २८ बाट थालिएको अनुगमन जारी रहेकाले पछि जिल्ला भरिकै तथ्याङ्क सार्वजनिक गरिने जानकारी दिनुभयो ।
“यो पहिलो चरणको अनुगमन हो, हामी दोस्रो चरणको अनुगमन पनि थाल्छौँ, विधि प्रक्रिया नपुर्याए र अनुमति विना सञ्चालनमा रहेका त्यस्ता विद्यालय उपर कानुनी कारबाही हुन्छ” उहाँले भन्नुभयो ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत यादव, नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिनारायण साह, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि शिवनाथ मण्डल, सहितका टोली अनुगमनमा सहभागी छन् ।