• ३० वैशाख २०८२, मङ्गलबार

४५ मेगावाटको ब्रहायणी जलविद्युत निर्माण सुरु

blog

ब्रहायाणी हाइड्रोपावर कम्पनीले जुगल गाउँपालिकामा निर्माण सुरु गरेको ४५ मेगावाट क्षमताको जलविद्युत आयोजना ।

चित्र मिजार

सिन्धुपाल्चोक, वैशाख ३० गते । जुगल गाउँपालिका–२ मा ब्रहायाणी हाइड्रोपावर कम्पनीले ४५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ । आयोजनाको सुरुङको मुखमा विस्फोट गराएर निर्माण सुरु गरिएको छ ।

परम्परागत लामा तथा ब्राह्मण बिधिद्धारा पूजाआजा गरेर सुरुङ निर्माण थालिएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरुङ प्रारम्भ हुने मुखको भित्तामा स्विच थिचेर विस्फोट गरेर निर्माण कार्य सुरु गरिएको थियो । 

उक्त पालिकाको वडा नं. २ छिन्दाङबाट ५ दशमलव ५ किलोमिटर सुरुङ निर्माण गरेर ब्रहायणी नदीको पानी तेम्बाथानको दिपुस्थित पावर हाउसमा लगेर बिद्युत् उत्पादन गरिने छ कम्पनीका अध्यक्ष भरत पराजुलीले जानकारी दिनुभयो । आयोजना निर्माणका लागि प्रवेश मार्ग तथा इन्जिनियरिङ क्याम्प निर्माण भएको छ । हाइड्रोपावर निर्माणका आवश्यक संरचना निर्माण भएको छ भने अन्य संरचना निर्माणाधीन छ । 

आयोजना सम्पन्न ९ अर्ब लाग्ने अनुमान गरिएको छ । विशेष परिस्थिति उत्पन्न नभएमा तीन बर्सभित्र आयोजना सम्पन्न हुने जनाइएको छ । आयोजनाले चार किमी नयाँ ट्र्याकसहित २७ किमी प्रवेश मार्ग निर्माण तथा मर्मत गरेको छ । बर्षायाममा समेत काम नरोकिने गरेर व्यवस्थापन मिलाइएको छ । त्यसका लागि अति आवश्यक मेसिन तथा निर्माण सामाग्री सुख्खा मौसममा ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । आयोजना पुग्न एउटा बेलिब्रिज निर्माण गरिएको छ । थप तीन वटा बेलिब्रिज निर्माण गर्न प्रस्ताव गरिएको छ । 

मूल ठेकेदार छनौटमा आयोजना लागेको छ । सानिमा बैङ्कको नेतृत्वमा वाणिज्य बैङ्कहरूले गर्ने सम्झौता भइसकेको छ । सिन्धुपाल्चोकमा उक्त आयोजनासँगै तीन दर्जन बढी जलविद्युत आयोजना छन् । दुई दर्जनका सङ्ख्याका जलविद्युत आयोजनाले बिद्युत् उत्पादन गरिरहेका छन् भने दर्जन बढी सङ्ख्याका आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् । जुगल गाउँपालिका र भोटेकोसी गाउँपालिकामा सबैभन्दा बढी जलविद्युत आयोजना सञ्चालनमा छन् । बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, मेलम्ची नगरपालिका लगायतका स्थानीय तहमा हाइड्रोपावरहरू सञ्चालनमा छन् । जलविद्युत आयोजनाहरूले सिन्धुपाल्चोकका सामाजिक कार्यमा सघाउ पुर्याईरहेका छन् । अझै केही नयाँ जलविद्युत आयोजना थपिन लागेका छन् ।