लहान समाचारदाता
लहान, भदौ ५ गते । नेपाली कांग्रेसका नेता तथा विचारक प्रदीप गिरीको वार्षिक स्मृति दिवस मनाइएको छ । स्वर्गीय गिरीको गृहनगर लहानमा सोमबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेता गिरीको २०७९ भदौ ४ गते निधन भएको थियो ।
लहान नगरपालिका–१४, बस्तीपुरका नेता गिरी २०४६ सालमा प्रजातान्त्रिक आन्दोलन सफल भएपछि सोही वडाको खुटी नदीको किनारमा आश्रम बनाएर बस्दै आइरहनुभएको थियो । निधन भएको एक वर्ष (वार्षिकी) का अवसरमा नेपाली कांग्रेस लहान नगर समितिले मुख्य चोकस्थित जय नेपाल चिया पसलअगाडि रक्तदान कार्यक्रम आयोजना गरेको नगर सभापति शीतलप्रसाद चौधरीले जानकारी दिनुभयो ।
प्रेस युनियन सिराहाका सचिव शम्भु यादवका अनुसार गिरीले २०३६ सालसम्मका आत्मवृत्तान्त कथाहरू लेख्नुभएको पुस्तक भदौ २२ गते प्रकाशित गरिने छ । आश्रममा उहाँको प्रतिमा स्थापना गरिने बताइन्छ । दलित जनकल्याण युवा क्लब लहानका निर्देशक विनोद विसुन्नेले गरिब दलितलाई असाध्यै माया गर्नुहुने गिरीको निधनले एक अभिभावक गुमाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उहाँ समाजवादी चिन्तक मात्रै होइन, व्यवहारबाट नै आफूलाई समाजवादी साबित गरेर देखाउने नेता हो ।” सोमबार आयोजित कार्यव्रmममा धनगदीमाई नगरपालिकाका उपप्रमुख सङ्गीता चौधरीले आफू नेता गिरीको अनुयायी भएर उहाँको प्रेरणाबाट राजनीतिमा सव्रिmय भएको बताउनुभयो ।
समाजसेवी फुलेश्वर महतोले प्रदीप गिरी नेपाली कांग्रेसको नेता मात्रै नभएर कम्युनिस्टलाई समेत माक्र्सवाद पढाउने गुरु भएको समाजवादी चिन्तकका रूपमा रहेको बताउनुभयो । लहान
नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरीले नेता गिरीकै निरन्तरको सिकाइ, प्रेरणा र समाजसेवाको भावले आफू राजनीतिमा रहेको बताउनुभयो ।