• २६ असार २०८२, बिहिबार

गोरखापत्रकर्मी हमाल पुरस्कृत

blog

गोरखापत्र दैनिककी पत्रकार चाँदनी हमाल ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ४ गते । गोरखापत्र दैनिककी पत्रकार चाँदनी हमाल मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी लेखरचनाको प्रतिस्पर्धामा उत्कृष्ट भई पुरस्कृत हुनुभएको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ दिवसको अवसर पारेर बाघ संरक्षणसम्बन्धी लेखरचनाको प्रतिस्पर्धा गराएको थियो । जसअनुसार पत्रकार हमाल उत्कृष्ट चारभित्र पर्दै पुरस्कृत हुनुभएको हो । 

उहाँसँगै विराट लामिछाने, नवीन न्यौपाने र धिरज परियार उत्कृष्ट चारभित्र पर्नुभएको विभागका सूचना अधिकारी चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो । विभागले लेखरचनाको संरचनात्मक प्रस्तुति, बाघ संरक्षण, भावी कार्यदिशा सहितको मापदण्ड तय गरेको थियो । जसमा पत्रकार हमालसहित चारजना सो मापदण्डभित्र उत्कृष्ट ठहरिएको चौधरीले बताउनुभयो । 

लेखरचना मूल्याङ्कनका लागि संरक्षण शिक्षा अधिकृतसमेत रहनुभएका चन्द्रशेखर चौधरीको संयोजकत्वमा विभागका अनुसन्धान अधिकृत रामचन्द्र खतिवडा, व्यवस्थापन अधिकृत विष्णु श्रेष्ठ, सदस्यसचिव प्रज्ञा खनालसहितक चार सदस्यीय समिति गठन गरिएको थियो । 

पत्रकार हमालको लेख गोरखापत्रको शनिसरीय अङ्कमा बाघ दिवसको दिन प्रकाशित भएको थियो । उत्कृष्ट चार जनालाई नगदसहित सम्मानपत्र प्रदान गरिएको विभागले जनाएको छ ।