काठमाडौं, भदौ ३ गते । पाँचौँ संस्करणको साफ यू–१९ फुटबल च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुँदैछ । च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तयारी सुरु गरेको छ ।
‘‘हामीले उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेका छौँ । व्यवस्थापकीय हिसाबले पनि साफ आयोजनालाई उत्कृष्ट रूपमा सफल बनाउने लक्ष्य राखेका छौँ,’’ च्याम्पियनसिप बारे सोमबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले बताउनुभयो ।
एन्फाका प्रतियोगिता संयोजक सञ्जीव मिश्रले उमेर समूहमा हरेक पटक नेपालको प्रदर्शन राम्रो रहेकोले उपाधि जित्ने दाबी गर्नुभयो । ‘‘साफका हरेक खाले प्रतियोगितामा नेपालको उपाधि दावेदारी रहन्छ । नेपालको लक्ष्य भनेको च्याम्पियन हुने नै हो । हामीले यसअघिका दुई संस्करणको उपाधि जितिसकेका छौँ,’’ मिश्रले भन्नुभयो ।
च्याम्पियनसिपका लागि एन्फाले जिल्ला र प्रदेश हुँदै केन्द्रीय स्तरसम्मको छनोट गराएर ३५ जना खेलाडीलाई प्रशिक्षणमा राखेको छ । छनोटमा देशभरबाट पाँच सय ४६ खेलाडी सहभागी थिए । यस च्याम्पियनसिपमा नेपाल, माल्दिभ्स, पाकिस्तान, भारत, भुटान र बङ्गलादेशको सहभागिता रहने छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले यसअघि सन् २०१५ र २०१७ मा उपाधि जितेको थियो ।
एन्फाले च्याम्पियनसिपका लागि टिकेटिङ अधिकार, यातायात र होटेललगायत अन्य आवश्यक सुविधाका लागि खुला प्रतिस्पर्धाको सूचना जारी गरिसकेको जनाएको छ । सहभागी टोलीले च्यासल र भद्रकालीस्थित आर्मीको खेल मैदानमा अभ्यास गर्नेछन् ।
च्याम्पियनसिप सम्पन्न गर्न दुई करोड ७७ लाख ३२ हजार ८ सय रुपियाँ खर्च हुने र यसको आर्थिक व्यवस्थापन दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले गर्ने बताइएको छ ।