लीलाधर वली
घोराही, पुस १४ गते । दाङको गौरवका रूपमा रहेको बेलझुण्डी रंगशाला संरक्षणमा चुनौती बनेको छ । तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा करिब छ वर्षअघि राष्ट्रिय खेलकुद परिषद्को करिब २४ करोड २४ लाख रुपियाँ खर्च गरेर निर्माण गरिएको रंगशाला संरक्षणका लागि आवश्यक जनशक्ति र सरसफाइ सामग्री नहुँदा समस्या भएको हो ।
आधुनिक रंगशाला निर्माण गर्दा संरक्षणका लागि आवश्यक पर्ने घाँस काट्ने मेसिन र जनशक्तिको व्यवस्थामा ध्यान नदिँदा अहिले समस्या भएको छ । रंगशाला संरक्षण नहुँदा रंगशालामा रोपिएको बरमुडा दुबो मरिसकेको छ । बरमुडा दुवो मर्दा स्थानीयस्तरमा उर्मने घाँसले रंगशाला भरिने गरेको छ । त्यही घाँस समय समयमा काट्नुपर्छ तर घाँस काट्नका लागि मेसिन र जनशक्ति नहुँदा समस्या भएको खेलकुद विकास समिति दाङका कार्यालय प्रमुख राकेश परियार बताउनुहुन्छ ।
रंगशाला निर्माण भए पनि संरक्षणमा ध्यान नदिदा अहिले समस्या भएको भन्दै कार्यालय प्रमुख परियारले भन्नुभयो, ‘‘बेलझुण्डीमा त रंगशाला बन्यो तर बनेको रंगशाला संरक्षणका लागि आवश्यक पर्ने सामग्री र जनशक्ति नहुँदा समस्या भएको छ ।’’ खेलकुद विकास समितिसँग घाँस काट्ने मेसिन समेत नहुँदा नेपाली सेनालगायतले प्रयोग गर्ने घाँस काट्ने मेसिन मागेर रंगशालाको घाँस काटेर खेल्नका लागि मैदान बनाउनुपर्ने अवस्था रहेको बताउनुहुन्छ ।
खेलकुद विकास समितिको आफ्नै आन्तरिक स्रोत नभएको र प्रदेश तथा केन्द्रस्तरबाट कुनै सहयोग नहुँदा भएको रंगशाला बचाउन समेत धौँधौँ भइरहेको बताउनुहुन्छ । रंगशालामा विभिन्न समयमा हुने प्रतियोगिताबाट वार्षिक रूपमा ४० देखि ५० हजार रुपियाँसम्म सङ्कलन हुने गरेपनि त्यो पैसा मैदानमा पानी चर्दा लाग्ने विद्युत शुल्कमै ठिक्क हुने गरेको बताउनुहुन्छ ।
सधैभरी रंगशाला भाडामा जादैन उहाँले भन्नुभयो, ‘‘कहिलेकाही भाडामा जाने गरेको छ, त्योबाट सङ्कलन भएको पैसा कार्यालय व्यवस्थापन र मैदानमा पानी चार्दा लाग्ने विद्युत शुल्क तिर्न ठिक्क हुन्छ, घाँस काट्ने मेसिन कसरी किन्ने !’’ उहाँका अनुसमार रंगशाला भाडामा जाने अवस्था नभएको भए रंगशालामा पानी चार्न समेत समस्या हुने अवस्था छ । रंगशाला संरक्षणका लागि लुम्बिनी प्रदेश खेलकुद परिषद्लगायत स्थानीय सरकारसँग पटक पटक आग्रह गरे पनि कतैबाट सहयोग मिल्न नसकेको उहाँको भनाइ छ ।
स्थानीय र प्रदेश सरकारबाट सहयोग भए रंगशालाका लागि थप पूर्वाधार विकास गर्दै व्यवस्थित गर्न हुन्थ्यो कार्यालय प्रमुख परियारले भन्नुभयोे, ‘‘रंगशालाको पश्चिमतर्फ भिआइपी प्याराफिट बनेको छ, तर पूर्वतर्फ साधारण प्याराफिटमा बसेर खेल हेर्न सक्ने अवस्था छैन । त्यसलाई राम्रो बनाउन सके थोरै भएपनि दर्शकसँग शुल्क उठाम भन्ने हुन्थ्यो, अहिले त्यो पनि छैन ।’’ सरसफाईका लागि जनशक्ति र मेसिन नहुँदासमेत जेनतेन सवै लागेर खेल्न योग्य मैदान बचाएर राखिएको बताउनुहुन्छ ।
रंगशालामा फुटबल मैदानसँगै सिन्थेटिक ट्रयाक निर्माण गरिएको छ । प्यारापिटभित्र खेलाडीका लागि चेन्जिङ रुम, अफिस, कन्फ्रेन्स हल र रेफ्रीका लागि छुट्टै कोठा निर्माण गरिएको छ । बेलझुण्डी रंगशालामा आठौँ राष्ट्रिय महिला फुटबल प्रतियोगिता र एथलेटिक्सका विभिन्न प्रतियोगिता भए पनि त्यसयता राष्ट्रियस्तरको कुनै प्रतियोगिता हुन सकेको छैन ।