• ९ मंसिर २०८१, आइतबार

अभिलेखनमा समर्पित बडाल

blog

काठमाडौँ, भदौ ४ गते । विगत १३ वर्षदेखि सीताराम बडालले नेपाली गीत, सङ्गीत, कला, साहित्य, संस्कृति, चलचित्र, जीवनशैली, इतिहासलगायतका विविध विधा अन्तर्गत रहेर समाचार, लेख, पत्रपत्रिका, म्यागेजिन, अडियो, भिडियो, पुस्तक आदिलाई अभिलेखीकरण गरिरहनुभएको छ ।  

हालसम्म सबै विधाका आठ हजार जिबीभन्दा बढी सामग्री सङ्कलन गरिसक्नुभएका उहाँलाई फेरि ती सामग्री हेर्दा देशकै महत्वपूर्ण सम्पत्तिका रूपमा जम्मा भएका जस्तो लाग्छ । आफ्नो महत्वपूर्ण अभिलेखमा बडालले राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दीपुरुष स्व. सत्यमोहन जोशीदेखि नेपालका २५० भन्दा बढी सङ्गीतकर्मी, चलचित्रकर्मी, रङ्गकर्मी, कवि, कलाकार, विशेषज्ञ, इतिहासविद्, शिक्षाविद्, भाषाविद्, बुद्धिजीवि, खोज अनुसन्धानकर्मी, साहित्यकारलगायतको भिडियो अन्तर्वार्तालाई समेत समेट्नुभएको छ । 

अभिलेखमा दिनहुँ सामग्री थपिँदै गइरहेका छन् । अभिलेखको मुख्य काम भनेको व्यवस्थापन हो । व्यक्तिगत रूपमा सङ्कलन गरिएका सम्पूर्ण सामग्रीलाई चुस्त, दुरुस्त र सुरक्षित रूपमा राख्न धेरै चुनौती छ । नेपालका विविध जातजाति तथा समुदायका चाडपर्व, जीवनशैली, रहनसहन, भाषा, गीत सङ्गीत, कला, वेशभूषा, संस्कृतिको खोज, अध्ययन, अनुसन्धान र अभिलेखनका निमित्त आगामी दिन समर्पित गर्ने चाहना रहेको उहाँ बताउनुहुन्छ  । खोज, अनुसन्धान गर्दा स्रोत तथा सामग्री नभेटेर धेरै दुःख पाइन्छ । त्यही दुःख आगामी पुस्ताले नपाओस् भन्ने बडालको चाहना छ ।