• १३ साउन २०८१, आइतबार

दामन भ्यु टावर पुनः सञ्चालनको तयारी

blog

राममणि दाहाल

हेटौँडा, साउन २९ गते । कोभिड–१९ को महामारीसँगै बन्द भएको नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक मकवानपुरको दामनमा रहेको दृश्यावलोकन स्तम्भ पुनः सञ्चालनको तयारी गरिएको छ ।

२०१३ सालतिर त्रिभुवन राजपथ निर्माण गर्ने क्रममा निर्माण गरिएको ऐतिहासिक महत्वसमेत रहेको दृश्यावलोकन स्तम्भ (दामन भ्यु टावर) उचित व्यवस्थापनको अभावमा यति बेला दुरवस्थामा पुगेको छ । रिसोर्टसहितको भ्यु टावर एन्ड दामन रिसोर्ट निजी क्षेत्रलाई ठेक्कामा सञ्चालन गर्न दिएकामा कोभिड–१९ को महामारी देखाउँदै बिचमा नै ठेक्का तोडेपछि पछिल्लो समय लथालिङ्ग अवस्थामा पुगेको हो । भ्यु टावरमा रहेको दामन रिसोर्ट भने पूर्णतः बन्द रहेको छ । 

थाहा नगरपालिकाले अव्यवस्थित र बन्दप्रायः अवस्थामा रहेको भ्यु टावर एन्ड दामन रिसोर्ट पुनः सञ्चालनमा ल्याउने तयारी थालेको छ । निजी क्षेत्रले ठेक्कामा लिएर बिचमा नै छाडेको भ्यु टावर पुनः ठेक्कामार्फत सञ्चालनमा ल्याउन नगरपालिकाले प्रक्रिया अगाडि बढाएको हो । 

थाहा नगरपालिका उपप्रमुख भरत गोपालीले ऐतिहासिक र पर्यटकीय महत्वको सम्पदा भएकाले ठेक्कामा दिएर सञ्चालनमा ल्याउन प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । 

छोटा समय ठेक्कामा दिँदा नआउने भएको २० वर्षका लागि ठेक्कामा दिने गरी बोलपत्र आह्वान भएको बताउँदै उहाँले यथास्थितिमा चल्ने अवस्था नरहेको गोरखापत्रलाई बताउनुभयो । “कोभिड–१९ को महामारीसँगै बन्द भएको थियो,” उहाँले भन्नुभयो, “लथालिङ्ग अवस्थामा छ, यथास्थितिमा चलाउन दिने अवस्था छैन ।” 

नगरपालिकाले रिसोर्ट २० वर्ष अवधिका लागि एक करोड रुपियाँमा ठेक्कामा लगाउने गरी ३० दिने बोलपत्र आह्वान गरेको छ । 

थाहा नगरपालिकाले भ्यु टावर मात्र रेखदेख र सञ्चालन गर्ने गरी कर्मचारी राखे पनि उचित व्यवस्थापन र प्रचारप्रसारको अभावमा पछिल्लो समय फाटफुट मात्र पर्यटक पुग्ने गरेका छन् । भ्यु टावरमा रहेको टेलिस्कोपबाट पालुङ उपत्यका र वरपरका प्राकृतिक दृश्यसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, गणेश, मकालुलगायतका हिमालको दृश्यावलोकन गर्न सकिन्छ । 

भ्यु टावरमा प्रवेश शुल्क स्थानीयलाई २०, नेपालीलाई ३० र विदेशी नागरिकलाई ५० रुपियाँ निर्धारण गरिएको छ ।