• १ जेठ २०८२, बुधबार

मानवीय सहायताका उडानमा रोक छैन : प्राधिकरण

blog

काठमाडौँ, साउन २९ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गमका विमानस्थलमा उद्धार, राहत, औषधी तथा खाद्यान्न ढुवानीका लागि उडान समय (अपरेसन आवर) मा कुनै बन्देज नरहेको जनाएको छ।

प्राधिकरणले आइतबार पत्रकार सम्मेलन गरेर उड्डयन सुरक्षा मापदण्डको अपव्याख्या भएको भन्दै व्यावसायिक उडानबाहेकका उद्धार, राहत तथा ढुवानीका उडानमा कडिकडाउ नभएको प्रस्ट पारेको छ। पछिल्लो केही दिनयता प्राधिकरणले तोकेको उडान समयमा हवाई उडान नहुँदा केही बिरामीको मृत्यु भएको र केही अलपत्र परेको समाचार सार्वजनिक भएका थिए। 

प्राधिकरणले हवाई सुरक्षालाई ध्यानमा राख्दै हिमाली तथा पहाडी जिल्लाका विमानस्थलमा असोज १३ गतेसम्म दिउँसो १२ बजेसम्म मात्रै व्यावसायिक उडान गर्न पाउने नियम जारी गरेको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हालसम्म नेपालमा भएका हवाई दुर्घटनामा मौसमी खराबी मुख्य कारण देखिएकाले सो उडान अवधि लागु गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हालसम्म भएका ९० प्रतिशत दुर्घटना जहाज बादलभित्र छिरेर भएका छन्। उड्डयन सुरक्षाका लागि हाल लागु रहेको नियम अहिले मात्रै नभएर हरेक बर्खामा लागु हुँदै आएको छ। यात्रुको सुरक्षासँगै अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा चासोलगायतका विषयलाई ध्यानमा राखी उडानमा कडाइ गरिएको हो।”

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई दुर्घटना न्यूनीकरणका साथै यात्रुमा हवाई यात्राप्रति विश्वास जगाउन उडान सुरक्षा मापदण्ड लागु गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “मनसुन अवधिमा सामान्य उडानका लागि इनरुट मौसमी अवस्थाको स्पष्ट अवस्था पहिचान नभई उडान अनुमति नदिने यसअघिकै नियम हो। मनसुन अवधिभरका लागि लागु गरिएका उडान सुरक्षा मापदण्ड आमसर्वसाधारण र उड्डयन क्षेत्रको हितमा छ।”

प्राधिकरणले हिमाली तथा पहाडी जिल्लामा रहेका दर्जनभन्दा बढी विमानस्थलमा बर्खाको समयमा मध्याह्नपछि तीव्र गतिमा हावा चल्ने र उडान मार्गमा भइरहने मौसम परिवर्तनका कारण हवाई उडानलाई सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउन असोज दोस्रो सातासम्म मध्याह्न १२ बजेपछिका व्यावसायिक उडानमा कडाइ गरेको छ। 

प्राधिकरणले विमानस्थल सञ्चालन निर्देशिका अनुसार अहिले पहाडी तथा हिमाली क्षेत्रका विमानस्थलमा उडान सञ्चालन बिहान ६ देखि मध्याह्न १२ बजेसम्म तोकेको जनाएको छ। असोज दोस्रो सातासम्म मध्याह्न १२ बजेपछि उडान रोके पनि तोकिएको समयअघि मौसममा सुधार देखिए व्यावसायिक उडान सञ्चालनको अनुमति दिइने प्राधिकरणले जनाएको छ।