• २६ वैशाख २०८१, बुधबार

विद्यालयका शिक्षक र कर्मचारी आन्दोलित

blog

आन्दोलित शिक्षक र कर्मचारी । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र (सुनसरी), साउन २८ गते ।
 सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू आफ्नो पेसागत हकहितको माग पूरा गराउन देशव्यापी रूपमा आन्दोलित भएका छन् । सरकारले शिक्षक र कर्मचारीहरूको मागलाई सम्बोधन नगरेको भन्दै आफ्नो पेसागत माग पूरा गराउन पहिलो चरणको कार्यक्रमअन्तर्गत स्थानीय सरकारको कार्यालयमा शिक्षकहरूले धर्ना दिएका हुन् ।

सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केही दफाहरू संविधान प्रदत्त ट्रेड युनियन अधिकार, शिक्षक कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमानको खिलाफमा रहेको भन्दै नेपाल शिक्षक महासङ्घले देशव्यापी रूपमा आन्दोलन सुरु गर्ने निर्णय गरेको छ ।

नेपाल शिक्षक महासङ्घ र सरकारबीच भएका ३० बुँदे र ५१ बुँदे सहमति पत्रसहित देशभरका पालिकामा जानकारी पत्र र धर्ना दिन शिक्षकहरूले आज ७५३ वटै पालिकामा धर्ना दिएका छन् । कार्यक्रम भएअनुसार आआफ्नो पालिकाहरूमा कार्यरत शिक्षक, कर्मचारीहरूले धर्ना र जानकारी माग पत्र स्थानीय निकायमा बुझाएको नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति सुनसरीका सचिव रोमनराज कार्कीले बताउनुभयो ।

यता वराहक्षेत्र नगरपालिकामा पनि शिक्षकहरूले धर्ना र जानकारी मागपत्र बुझाइएको वराहक्षेत्र नगर शिक्षक महासङ्घ नगर अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

बस्नेतले भन्नुभयो, “नेपाल शिक्षक महासङ्घको पूर्व घोषित कार्यतालिका अनुसार वराहक्षेत्र नगरका शिक्षकहरूले पनि शिक्षक महासङ्घ वराहक्षेत्रको नेतृत्वमा धर्ना दिएका छौँ । साउन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म पालिका स्तरमा धर्ना दिने कार्यक्रमअन्तर्गत धर्ना दिइएको हो ।”

नेपाल शिक्षक कर्मचारीका न्यायिक माग र विगतमा भएका सबै सहमति बारे पनि पालिकाहरूलाई जानकारी गराइएको छ । नयाँ ऐनमा शिक्षकहरूको माग पूरा गर्न सरकार लाग्नुपर्ने माग राखेर शिक्षकहरू आन्दोलनमा उत्रेका हुन् । साउन ३० गते देशभरका जिल्ला शिक्षा समन्वय एकाइमा  धर्ना दिने र साउन ३२ गते प्रदेश सामाजिक विकास मन्त्रालयमा धर्ना र जानकारी पत्र दिने कार्यक्रम रहेको सचिव कार्कीले जानकारी दिनुभयो ।

विद्यालय बन्ध नगरीकन आन्दोलन गर्ने शिक्षक सङ्घ सुनसरीका सचिव रोमनराज कार्कीले बताउनुभयो । शिक्षकहरूले २०७५ साल र त्यसपछि स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीबाट पेन्सन दिनुपर्ने माग नसमेटिएको बताएका छन् ।

सरकारले बनाएको मस्यौदाले स्थायी, अस्थायी, करार, राहत, साबिक उच्च मावि, बाल कक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षकलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीको माग सम्बोधन गर्नुपर्ने माग राखेर शिक्षकहरू आन्दोलनमा उत्रेका छन् ।