ज्ञानेन्द्र मल्लको सन्न्याससँगै नेपाली क्रिकेटको एक युग समाप्त भएको छ । पछिल्ला १८ वर्ष ज्ञानेन्द्रले कप्तान, उपकप्तान र एक खेलाडीका रूपमा नेपाली क्रिकेटको सेवा गर्नुभयो । यद्यपि गत हप्ता अकस्मात सन्न्यास लिएपछि अब ज्ञानेन्द्रलाई कुनै पनि संरचनाको अन्तर्राष्ट्रिय क्रिकेटमा देख्न पाइने छैन ।
ज्ञानेन्द्रले सन्न्यास ठिक समयमा लिए अथवा ढिलो गरे यो अहिले बहसको विषय बनेको छ तर साँच्ची भन्ने हो भने कुनै पनि खेलाडीलाई सन्न्यासको निर्णय लिन निकै कठिन हुने गर्छ, जसले गर्दा खेलाडीहरूले विभिन्न परिस्थितिमा खेल जीवन त्यागेको पाइन्छ । कोही खेलको जीवनको चुचुरोमा पुगेर, कोही चोटले गर्दा त कोही खेल जीवन आरोलो लागेपछि सन्न्यास लिन्छन् । शीर्षमा रहेर पनि सन्न्यास लिने त्यस्ता खेलाडी हुन्, जो अब खेलेर योभन्दा बढी हासिल गर्न सकिँदैन भन्ने सोचाइ राख्छन् । अनि आफू नम्बर एक छँदा नै खेल जीवनलाई बाईबाई गर्छन् ।
ज्ञानेन्द्रको हकमा लगातार अपेक्षा अनुरूप प्रदर्शन हुन नसकेपछि सन्न्यासको मन बनाएको देखिन्छ । सायद अहिलेसम्म किन सन्न्यास नलिएको भनी औँला उठ्नुअघि नै ज्ञानेन्द्रले सन्न्यासको विषयमा सोचेभन्दा फरक नपर्ला । त्यसैले त उहाँले अर्को महिना हुने प्रतिस्पर्धात्मक हिसाबले नेपालकै अहिलेसम्मको सबभन्दा ठुलो क्रिकेट प्रतियोगिता एसिया कपसम्म पनि पर्खिनुभएन ।
ज्ञानेन्द्रले खेल छोडेपछि उहाँको सन्न्यासलाई लिएर मिश्रित धारणा आएको छ । अहिले ३२ वर्ष मात्र पुगेका ज्ञानेन्द्र अझै फिट हुनुहुन्छ । उहाँमा अझै क्रिकेट बाँकी छ र अझै अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सक्नु हुन्छ । फर्म भनेको अस्थायी हो, क्लास स्थायी हो भन्नेहरूको जमात पनि ठुलै छ । यसो त ज्ञानेन्द्रको प्रदर्शनमा उमेर हाबी हुँदै छ भन्ने पनि नदेखिएको होइन । यद्यपि ज्ञानेन्द्रले ब्याटिङमा लगातार अपेक्षावृmत प्रदर्शन गर्न नसकेपछि सन्न्यासको निर्णय गर्नुभयो । उहाँले नयाँ खेलाडीहरूका लागि बाटो खोल्न पनि यो कठिन निर्णय गरेको भन्नुभएको छ । विश्व क्रिकेटमा महान् खेलाडीलाई पनि केही खेलमा कमजोर प्रदर्शनपछि टिमबाट निकालेर अपमानित गर्ने उदाहरण नभएको होइन । त्यसैले ज्ञानेन्द्रले सम्मानजनक रूपमा क्रिकेटबाट बिदा चाहेको देखिन्छ ।
नेपालका उत्कृष्ट ब्याट्सम्यान
नेपाली क्रिकेटले अहिलेसम्म पाएका प्राविधिक रूपमा सबभन्दा सक्षम ब्याट्सम्यान । एक स्टाइलिस ब्याट्सम्यान । तेज र स्पिन दुवै बलिङ आक्रमणलाई सजिलै खेल्न सक्ने खुबी । क्रिजमा टिकेर अथवा विस्फोटक पाली खेल्नु परेमा अगाडि आउने नाम । चौका, छक्का प्रहार गर्न माहिर अनि जुनसुकै सट खेल्न सक्ने । यी सबै गुण कुन नेपाली क्रिकेटरमा छ भनी प्रश्न गर्दा एउटै मात्र उत्तर आउँछ– ज्ञानेन्द्र मल्ल । यस्तो प्रतिभा विश्व क्रिकेटमै कमै ब्याट्सम्यानमा देख्न सकिन्छ । यद्यपि ज्ञानेन्द्रमाथि समय समयमा ‘अन्डरपर्फमर’ कै ‘ट्याग’ लागेको पनि छ । आफ्नो क्षमताभन्दा कम प्रदर्शन गर्नेलाई अन्डर एचिभर्स भनिन्छ । उमेर समूहको क्रिकेटदेखि नै ज्ञानेन्द्रलाई क्षमतावान् क्रिकेटरका रूपमा हेरिए पनि सुरुका दिनमा आशा गरिए अनुरूप प्रदर्शन नहुँदा आलोचित पनि बन्नुभयो । यद्यपि ज्ञानेन्द्रले सधैँ आलोचकलाई चुप पार्दै प्रत्येक पटक आफूमाथिको यो धब्बा मेटाउनुभएको छ ।
अहिले नेपाली क्रिकेटको तस्बिर धेरै फरक भइसकेको छ । विश्वमा नेपाली क्रिकेटको नाम अहिले सम्मानका साथ लिने गरिन्छ । नेपाली क्रिकेटलाई यो ठाउँसम्म पु¥याउने क्रिकेटरहरूको नाम लिँदा पारस खड्कापछि निर्विवाद रूपमा ज्ञानेन्द्रको नाम आउँछ । नेपाली क्रिकेटमा पारस खड्काको एक कप्तानका रूपमा ठुलो नाम छ तर ज्ञानेन्द्र टिममै भएका कारणले पनि कप्तान पारसलाई भाग्यशाली मान्नेको कमी छैन किनभने ज्ञानेन्द्रमा क्रिकेटको ज्ञान भरपुर छ । उहाँ टिमको आवश्यकता अनुसार जुनसुकै स्थानमा पनि ब्याटिङ गर्न सक्नुहुन्छ ।
विद्रोही कप्तान
ज्ञानेन्द्र क्रिकेट जीवनमा एक पटक मैदानबाहिरको घटनाले चर्चामा रहनुभयो । दुई वर्षअघि पारसले कप्तान पद छाड्दै अब ज्ञानेन्द्रले मात्र नेपाली क्रिकेट टिमको भार सम्हाल्न सक्ने भनी उहाँको वकालत गर्नुभएको थियो । नभन्दै नेपाल क्रिकेट सङ्घ (क्यान) ले ज्ञानेन्द्रलाई नै कप्तानको जिम्मेवारी दियो ।
हुन त पहिले पनि पारस अनुपस्थित रहेको समयमा ज्ञानेन्द्रले नेपाली क्रिकेट टिमको नेतृत्व गरिसक्नुभएको थियो । घरेलु फ्रेञ्चाई लिगमा ज्ञानेन्द्र सधैँ टिमको कप्तानका रूपमा खेल्नुहुन्थ्यो । उहाँकै कप्तानीमा गत वर्ष ललितपुर प्याट्रियट्स एभरेस्ट प्रिमियर लिग च्याम्पियन भएको थियो । एक सिनियर खेलाडी भएकाले ज्ञानेन्द्रलाई सबै खेलाडीले सम्मान पनि गर्छन् तर राष्ट्रिय टिममा स्थायी कप्तानका रूपमा ज्ञानेन्द्रको कार्यकाल सुखद भएन ।
क्यानले कप्तान पदमै रहेको बेला ज्ञानेन्द्रलाई टिमबाट हटाएपछि नेपाली क्रिकेटमा हलचल मच्चिएको थियो । खेलाडी वर्गीकरणका विषयलाई लिएर ज्ञानेन्द्रले आफ्ना खेलाडीको पक्ष लिँदै असन्तुष्टि पोख्नुभएको थियो । यसलाई क्यानले आचारसंहिता उल्लङ्घन भएको ठहर गरेर कारबाही ग-यो । ज्ञानेन्द्रसहित चार खेलाडी कारबाहीमा परे । सन् २०२२ को सेन्ट्रल कन्ट्र्याक्टमा सुरुको छ महिनामा ज्ञानेन्द्रलाई सहभागी नगराउने निर्णय गरियो तर क्यानको कारबाहीमा परे पनि आफ्नो खेल जीवन दाउमा राखी खेलाडी साथीको पक्षमा बोलेकाले ज्ञानेन्द्रको छवि अझ उच्च भएको थियो । यो केसले राजनीतिक रङ्ग पनि लियो । त्यसपछि ज्ञानेन्द्रसहित चार खेलाडीको कारबाही त फिर्ता भयो तर उहाँको कप्तान पद गुम्यो । केही शृङ्खलापछि ज्ञानेन्द्रलाई टिमबाट नै हटाइयो । ज्ञानेन्द्र केन्या भ्रमणमा पुनः राष्ट्रिय टोलीमा फर्कनुभएको हो ।
खेल जीवनका हाइलाइट्स
सन् २०१२ मा एसिसी इलिट ट्रफीमा ज्ञानेन्द्रले साउदी अरबका बलर नदिम जावेदलाई एकै ओभरमा लगातार छ चौका प्रहार गर्नुभएको थियो । नेपाली क्रिकेट इतिहासमा यस्तो उपलब्धि अहिलेसम्म अन्य क्रिकेटरले हासिल गरेको छैन । सोही खेलमा उहाँले १८ बलमै अर्धशतक पूरा गरेर नेपालका लागि सर्वाधिक तेज अर्धशतकको कीर्तिमान पनि राख्नुभयो । यसै गरी टि–२० विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध २० बलमा ५० रन बनाएर ज्ञानेन्द्र टि–२० पनि सर्वाधिक तेज अर्धशतक बनाउने नेपाली ब्याट्सम्यान बन्नुभएको थियो । विश्व क्रिकेट लिग डिभिजन थ्रीको उपाधि यात्राका क्रममा ज्ञानेन्द्रले सिङ्गापुरविरुद्ध ११४ रन बनाउनुभयो, जुन उहाँको पहिलो अन्तर्राष्ट्रिय शतक बन्यो । यसै गरी १३ औँ सागमा भुटानविरुद्ध ५५ बलमै १०७ रन बनाएर टि–२० अन्तर्राष्ट्रियमा शतक बनाउने नेपालका पहिलो क्रिकेटर बन्नुभएको थियो ।
अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा पहिलो अर्धशतक बनाउने सूचीमा पनि ज्ञानेन्द्रको नाम सबभन्दा अगाडि छ । नेपालले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीयमा खेल्दा ज्ञानेन्द्रले ५१ रन बनाउनुभएको थियो । कप्तानका रूपमा ज्ञानेन्द्रको प्रदर्शन १२ टि–२० अन्तर्राष्ट्रियमा नौ खेलमा छ जित र तीन हार तथा एकदिवसीय अन्तर्राष्ट्रियमा छ जित र चार हार रहेको छ, जुन राम्रो तथ्याङ्क हो । एक खेलाडीका रूपमा उहाँले अन्तर्राष्ट्रिय टि–२० मा एक शतक र दुई अर्धशतकसहित कुल ८८३ रन, ओडिआईमा ३७ खेलमा सात अर्धशतकसहित ८७६ तथा लिस्ट एमा ११ अर्धशतकसहित १८०२ रन बनाउनुभएको छ ।
ज्ञानेन्द्रको क्रिकेट जीवन
ज्ञानेन्द्रको जन्म काठमाडौँको भीमसेनस्थानमा मध्यमवर्गीय परिवारमा भएको हो । उहाँको परिवारलाई थकु जुजु भनेर चिनिन्छ । ज्ञानेन्द्रका अनुसार उहाँको परिवार भीमसेन गुठी, पचली भैरव आदि गुठीका संरक्षक पनि थियो । ज्ञानेन्द्रको परिवारमा क्रिकेटसँग आबद्ध कोही थिएनन् तर उहाँको क्रिकेट जीवन सलल बग्यो ।
ज्ञानेन्द्रमा सानैदेखि क्रिकेटको भूत चढेको थियो । उहाँले आठ, नौ वर्षको उमेरसम्म काठको ब्याट बनाई टेनिस बल, प्लास्टिक बलले भीमसेनस्थानको चोकमै क्रिकेट खेल्दाखेल्दै क्रिकेटसँग नाता जोड्नुभयो । यसरी खेल्दै गर्दा टोलकै रसिल श्रेष्ठले उहाँको प्रतिभा देखेर स्थानीय जेबी क्लबबाट क्रिकेट खेलाउनुभएको थियो । त्यसपछि उहाँले सानै उमेरमा यंगाल क्रिकेट क्लबबाट पनि प्रतिस्पर्धा गर्नुभयो । त्यहाँ क्रिकेट खेल्ने मनोबल प्राप्त गरेपछि यंगाल क्लबका विनोद राजभण्डारीले उहाँलाई यु–१५ को क्लब छनोटमा सहभागी गराउनुभयो ।
हुन त उहाँ १५ वर्षभन्दा कम उमेरमै यु–१७ क्याम्पमा चयन हुनुभएको थियो तर उहाँले यु–१५ नै पहिलो पटक खेल्नुभयो । ज्ञानेन्द्रले सही समयमा सही मौका पाउँदै जानुभयो । ज्ञानेन्द्रसँग यु–१५, यु–१७, यु–१९ र राष्ट्रिय सिनियर टिम सबै वर्गको भरपुर अन्तर्राष्ट्रिय अनुभव हासिल छ । ज्ञानेन्द्रले सन् २००६ मै चार दिवसीय प्रतियोगिता आइसिसी इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्ध खेलेर राष्ट्रिय टिममा पदार्पण गर्नुभएको हो । सो समय उहाँ १६ वर्ष मात्र पुग्नुभएको थियो । सोही वर्ष ज्ञानेन्द्रले एसिसी ट्रफीमा आफ्नो पहिलो एकदिवसीय खेलमै कुवेतविरुद्ध ७१ रन बनाएर म्यान अफ दि म्याचको पुरस्कार जित्नुभयो । एकताका ज्ञानेन्द्रमा क्रिकेटलाई लिएर निराशा छाएको थियो । त्यसैले क्रिकेट छोडेर परिवारसहित अस्ट्रेलिया जाने प्रक्रियामा लाग्नुभएको थियो उहाँ । उमेर समूहको क्रिकेट खेल्दा भविष्यलाई लिएर चिन्ता नभए पनि ज्ञानेन्द्रले बढ्दो उमेरसँगै क्रिकेटमा लागेर जीवनयापन गर्ने अवस्था देख्नुभएन । सो समय वर्षमा एक या दुई पटक राष्ट्रिय, अन्तर्राष्ट्रिय क्रिकेट हुन्थ्यो । अझ मध्यमवर्गीय परिवार भएकाले भविष्यलाई लिएर अलि दबाब नै थियो तर अहिले क्रिकेटले उहाँलाई नामका साथै दाम कमाउने अवसर पनि दिएको छ । उहाँ अहिले विभिन्न क्रिकेट एकेडेमीमा आबद्ध भएर राम्रा क्रिकेटर पनि उत्पादन गरिरहनुभएको छ ।