मध्यपुर नगरका प्रमुख जात्रामध्ये जेष्ठ शुक्ल षष्ठीका दिन मनाइने लोकेश्वर जात्रा पनि हो ।‘सिठि’ का दिन जात्रा गर्ने देवता भएकाले स्थानीयले लोकेश्वर ‘सिठिनखः द्यो’ पनि भन्ने गर्छन् । उक्त लोकेश्वर देवतालाई पद्यपाणी लोकेश्वर (लोकनाथ) ‘लुकना द्यो’ पनि भन्ने गरिन्छ । लोकनाथको छोटकरीमा स्थानीय जनजिब्रोले ‘लुकना द्यो’ भन्ने गरिएको पनि हुन सक्छ ।
उपत्यकाका धर्मावलम्बीमा बाह्र महिनामा बाह्र लोकेश्वरको पूजा गरी व्रत बस्ने चलन छ । उक्त बाह्र लोकेश्वरमा थिमि मरुटोलस्थित पद्यपाणी लोकेश्वर पनि पर्दछ । नेपालमण्डलभित्र ३६० लोकेश्वर पनि छ भनेर भन्ने गरिन्छ । कहीँ १०८ लोकेश्वरको वर्णन गरेको पाइन्छ । उक्त ३६० र १०८ लोकेश्वरको नाम उल्लेख भएका पुस्तक थिमिका बौद्ध विद्वान् मञ्जुवज्र वज्राचार्यले आफूसँग सो पुस्तक सुरक्षित भएको बताउनुहुन्थ्यो ।
बाह्र महिनामा प्रत्येक महिना एक÷एक लोकेश्वर स्थानमा गई व्रत बसेर पूजा गरी लोकेश्वर देवताको कथा सुन्ने चलन छ । उक्त बाह्र स्थानका बाह्र लोकेश्वर निम्न अनुसार छन्– रातोमत्स्येन्द्रनाथ (करुणामय, बुङमती), जटाधारी लोकेश्वर (चाकुवा द्यो पाटन), हरिहर वाहन लोकेश्वर (चाँगु भक्तपुर), अनन्तधारी लोकेश्वर (चोभार कीर्तिपुर), सृष्टिकान्ता लोकेश्वर (नाला काभ्रे), जलवाहन लोकेश्वर सेतोमत्स्येन्द्रनाथ (जनबहाल काठमाडौँ), भक्तपुरको तापालाछिको लोकेश्वर (भक्तपुर), खरश्वरी लोकेश्वर (लुभु), लगनखेलको लोकेश्वर (पाटन), खडक्षरी लोकेश्वर (बाडेगाउँ), पाटन सुन्धाराको लोकेश्वर र थिमिको पद्यपाणी लोकेश्वर । थिमिको लोकेश्वरलाई पद्यपाणी लोकेश्वर भनी लेखिए पनि लोकेश्वरका पुरोहित पञ्चमुनि वज्राचार्य र थिमि क्षेत्रका बौद्ध विद्वान् मञ्जुवज्र वज्राचार्यले आफ्ना पुस्तकमा कारणव्युह लोकेश्वर भनी उल्लेख गरेको पाइन्छ भनेर भन्दै आएको पाइन्छ । र उक्त लोकेश्वरको जात्रा गर्ने खट रथमा लेखिएको अभिलेखमा पनि कारणव्युह लोकेश्वर भनी उल्लेख गरिएको छ ।
थिमि क्षेत्रमा मनाइने हरेक जात्रामध्ये वर्षभरिको चाड र जात्रामा सबैभन्दा पछि मनाउने जात्रा भनी उक्त जात्रा गर्ने लोकेश्वरलाई स्थानीयले ‘नखः फुक वःम्ह द्यो’ अथवा जात्रा सिध्याउन आएका देवता भन्ने गर्छन् । हुन पनि त्यस जात्रापछि लामो समयसम्म कुनै पनि जात्रा र चाड आउँदैनन् ।
काठमाडौँ, पाटन र अन्य ठाउँका लोकेश्वरको जस्तै जात्राको केही दिनअगाडि ‘न्हवं’ महास्नान गराउने चलन पनि छ । जेष्ठ शुक्ल प्रतिपदाका दिन मन्दिरमा विराजमान देवतालाई मन्दिरबाट निकाली मन्दिरअगाडिको डबलीमा राखी दुध, दही, घिउ, मह, सखर मिसाएर पानीमा घोली महास्नान गराइन्छ ।
‘दशदिक्पाल’ पूजा गरिन्छ । तान्त्रिक विधि अनुसार चार जना थकाली गुरुजुबाट चार दिशाबाट महास्नान गराइन्छ । त्यसभन्दा अगाडि लायकुका मुख्य प्रधान ‘नायः पःमा’ को रोहबरमा गरगहना जामा लुगा निकाली एउटा भाँडामा थन्काइन्छ । तान्त्रिक पद्धतिबाट ‘चचा गाई’, कलश स्थापना गरी तान्त्रिक विधिबाट देवताको प्राण कलशमा साधना गरिन्छ । उक्त कलश मन्दिरमा स्थापना गरी देवतालाई विधिविधान अनुसार क्षमा मागी सेतो कपडाले जिउ ढाक्ने गरी बेरिन्छ । सोही दिन सबै प्रव्रिmया सकिएपछि करिब ४–५ बजेतिर लोकेश्वर भगवान्लाई जात्रा गर्ने खटमा विराजमान गराई चार जनाले खट बोकी एउटा ‘गं’ (घण्टा) मात्र ‘ताना ताना’ बजाई थिमि चपाचो गार्चास्थित ‘जी स्वाँ बाहा’ पूर्वस्थित महाविहारमा ल्याइन्छ । त्यो बेला अन्य बाजा केही पनि बजाइन्न । द्वितीयाका दिन दिनभर एउटा कोठामा छोपी राखिन्छ । तृतीयाका दिन घाममा सुकाइन्छ । चतुर्थीका दिन चित्रकारबाट रङरोगन गराइन्छ । पञ्चमीका दिन बिहानै मन्दिरमा लोकेश्वर साधना गरी राखेका कलश उक्त ‘जीस्वाँ बहा’ मा ल्याइन्छ । यज्ञ गरिन्छ, दशकर्मको सबै विधि गरी विधिविधान अनुसार कलशमा साधना गरी राखेका भगवान्लाई कलशबाट पुनः मूर्तिमा प्रवेश गराइन्छ । गरगहना र लुगाबाट पुनः सजाई गरगहनासहित सजावट गरिन्छ । सबै विधि सिध्याई गुठीका सबै गुठियार बसेर भोज खाइन्छ ।
भोलिपल्ट अथवा जेष्ठ शुक्ल षष्ठी ‘सिठीनखः’ का दिन बिहानदेखि बाहासँगैको पाटीमा लोकेश्वर करुणामय देवतालाई सजिसजाउ गरी जात्रा गर्ने ठुलो खटमा राखी विद्यागणेश पाटीमा सर्वसाधारणका लागि प्रदर्शन गरिन्छ । त्यस दिन नेवार बस्तीमा ‘सिठीनखः’ पर्व भएकाले सबैको घर घरमा सरसफाइ, लिपपोत गरी पूजाआजा गरिछ र आआफ्नो गच्छे अनुसार भोजको तयारी हुन्छ । त्यस दिन कुमार षष्ठीका रूपमा पनि मान्ने गरिन्छ र थिमिमा करुणामय सहकालका देवता मानी लोकेश्वर भगवान्लाई छ प्रकारका रोटी चढाइन्छ । कृषिबालीमा उब्जनी भएका नयाँ अन्न राखी पूजा पनि गरिन्छ । ‘सिठीनखः’ बढी चाहिँ कृषिकर्म, सरसफाइ र आउँदै गरेको वर्षा ऋतुको स्वागतमा नै चाड मनाइएको प्रतीत हुन्छ । त्यसैले पानीका मुहान, ढुङ्गेधारा, इनार, कुवामा सरसफाइ गरी परम्परागत रूपमा वातावरण दिवस मनाएको भन्न सकिन्छ । कृषिबाली, धान रोपाइँको काममा तयारीमा लाग्ने सुरु हुने भएकोले त्यस्तै कामको तयारीमा पनि लाग्ने गरिन्छ । त्यस दिनदेखि सिन्हाज्या अथवा रोपाइँ कार्य सुरु हुने हुनाले त्यस दिनदेखि सिन्हाज्या रागका गीत गाउन पनि सुरु हुन्छ ।
सबैको घर घरमा ‘वः’ (बारा) मास, मुगी, मुसुरो, सानो केराउ, चतामरी र गहँु भुटी पिसेर बनाएको सातु तयार पारिएको हुन्छ । यी छ थरी रोटी राखी लोकेश्वर भगवान्लाई चढाइन्छ र आफूहरू पनि खाने चलन छ । सहकालका देवता, अन्नबाली सपारिदिने देवता, वर्षाका देवताका रूपमा आफूले उब्जाएका बालीको नयाँ अन्न, काँचो गहुँ, मकै, धान, चामल गेडागुडी र अन्य नयाँ फसलसमेत लोकेश्वर भगवान्लाई चढाइन्छ ।
त्यस दिन दिनभरि लोकेश्वर भगवान्लाई पाटीमा राखिन्छ । थिमि र आसपासका भक्तजन पूजाआजासाथ दर्शन गर्न आउनले दर्शनार्थीको भिड हुन्छ । बिहानदेखि भजन टोली लोकेश्वरको भजन गाउने, ‘तुतः’ स्तुति गर्ने, बत्ती बाल्नेको घुइँचो हुन्छ । राति ९–१० बजेतिर जात्रा सुरु हुन्छ । जात्रा सुरु हुनुअगाडि विभिन्न भजन टोली भजन गाइरहन्छन् । बाजा टोली धिमेबाजा, बाँसुरीबाजा, ‘गुलांबाजा’, ‘द्याः’ बाजा धमाधम आउन सुरु हुन्छ । सबैभन्दा पछि लायकुको आधिकारिक बाजा ‘द्यः’ बाजा पनि उपस्थित हुन्छ । मान्छेको भिड बढ्न थाल्छ । भजन टोलीले त्यस दिनदेखि मात्र गाउन मिल्ने ‘सिन्हाज्या’ रागका विभिन्न भजन गाउन थाल्छन् । हाम्रो समाजमा सिठीका दिनदेखि गठेमङ्गलका दिनसम्म मात्र ‘सिन्हाज्या’ रागको गीत गाइन्छ । अघिपछि गाउनहुन्न भन्ने मान्यता छ र वसन्त रागका गीत पनि त्यस एक दिन गाइने भएकाले गाउन मिल्ने मान्यतासाथ ती रागका गीत मस्तले गाइन्छ । तैपनि जात्रा सुरु हुँदैन । जबसम्म लायकुका प्रतिनिधि ‘पःमा’ हरूको उपस्थिति हुँदैन तबसम्म जात्रा सुरु हुँदैन । लायकुबाट प्रधान, मुख्य प्रधान ‘नायः पःमा’ को उपस्थितिमा मात्र उनीहरूको रोहबरमा जात्रा सुरु हुन्छ ।
लायकुका ‘नायः पः’ मा मुख्य प्रधानको आदेशमा पाटीमा दिनभरि सजाइराखेका लोकेश्वरको खट निकाली छत्र ओढाई (छाता) विभिन्न बाजागाजासाथ जात्रा सुरु हुन्छ । रथ बोक्न युवा तँछाडमछाड गर्छन् । गार्चा टोलबाट जात्रा सुरु हुँदै चपाचो, लाछि, दोँड, दिगु, लायकु टोल भएर बालकुमारी मन्दिर परिव्रmमा गरी मरुस्थित लोकेश्वरको आफ्नो मन्दिरमा विराजमान गराएपछि त्यस दिनको जात्रा समाप्त हुन्छ । त्यसको चौथो दिनमा ‘विचाः’ पूजा भनेर विशेष पूजा हुन्छ । त्यसपछि सो वर्षको जात्रा समाप्त हुन्छ । ‘सिठीनखः द्यो’, लोकेश्वर, करुणामय, ‘लोकना द्यो’ नामबाट परिचित लोकेश्वरलाई रक्तवर्णका तीन फुट अग्लो गरगहनाले सजाउँदा निकै आकर्षक देखिन्छ । हेरिरहँदा मुसुक्क हाँसे जस्तो लाग्ने लोकेश्वर मध्यपुरवासीका आस्थाका केन्द्र हुन् । मुद्दामामिला लाग्दा लोकेश्वर भगवान्लाई पूजा भाकल गरेमा मुद्दा आफ्नो पक्षमा पैmसला हुन्छ भन्ने विश्वास थिमिवासीलाई छ । लोकेश्वरको गुठी छ, आयस्ता छ । पहिला सात रोपनी जग्गा भएकोमा जग्गा रैतानीमा परिवर्तन भएकाले बाली आउन पनि छोड्यो । गुठी अड्डाबाट ३७ रुपियाँ प्राप्त हुने गरेको बताइन्छ । त्यसका भरमा जात्रा चलाउनु पर्छ भनी पुरोहित पञ्चमुनि वज्राचार्य बताउनुहुन्छ ।
जात्रा कहिलेदेखि सुरु भए, थिमिमा लोकेश्वर स्थापना कहिले भए भन्नेबारे तथ्य प्रमाण भेटिन्न । लायकुका ‘नायः पःमा’ लिखत पुस्तकका लेखक ‘नायः पःमा’ श्याम श्रेष्ठले ‘नेपाल सम्वत् ६८५ थिमिमा पद्यपाणी लोकेश्वरको स्थापना गरेको अभिलेख छ’ भनेर लेख्नुभएछ तर ती अभिलेख कहाँ छ, कस्तो अवस्थामा छ भनी उल्लेख गर्नुभएको छैन । जात्राबारेमा थिमि क्षेत्रका बौद्ध विद्वान् अर्का लेखक मञ्जुवज्र वज्राचार्य आफ्ना पुस्तकमा ने.सं. ८३५ देखि थिमिमा लोकेश्वरको जात्रा गर्ने चलन बसाले भन्ने उल्लेख गर्नुभएको छ ।
हाम्रा समाजका यथार्थ स्वरूपलाई चित्रण गर्ने माध्यम भनेको हाम्रो पुर्खाले सञ्चालन गरी हामीलाई सुम्पिएका चाडबाड, जात्रापर्व जस्ता अन्य कुरा हुन् । जात्रापर्वको अभिप्राय समाजका सबै वर्गसँग झैझगडारहित भई सदा सन्तुलित बनिरहोस् र खुसी होस् भन्ने नै हो । जीवन निर्वाह गर्दा दुःखकष्ट टाढा रहिरहोस् भनी कामनासाथ यस्ता जात्रा पर्व सञ्चालन भइआएको देखिन्छ । भविष्यका द्रष्टा हाम्रा पुर्खाले जात्रापर्व मात्र सञ्चालन गर्नुभएन त्यसलाई निरन्तरता दिन पछि पछिसम्म सञ्चालन होस् भन्ने हेतुले जात्रापर्वका नाउँमा अक्षयकोषको पनि व्यवस्था गरेको पाइन्छ । ती जात्रापर्वका नाउँमा जग्गा पनि राखी जात्रापर्व सञ्चालन गर्न गुठीको बन्दोबस्त गरी ती गुठीमार्फत जात्रापर्व सञ्चालन होस् भन्ने हेतुले सबै व्यवस्था सुम्पिगएको पाइन्छ । त्यसैले त सयौँ वर्षदेखि नेपालका अमूल्य मूर्तअमूर्त सम्पदा पनि निरन्तर चलिरहेका देखिन्छन् ।
समयको अन्तरालसँगै यी जात्रा पर्व दिनप्रतिदिन धमिलिँदै गइरहेको पाइन्छ । पुर्खाबाट जात्रापर्व सञ्चालनका निमित्त अक्षयकोषको व्यवस्था गरी राखिएका जग्गा भूमिसुधारका नाउँमा रैकरमा परिणत गरी बेचबिखन गरेको पाइन्छ । कतै गुठी अड्डाबाट जग्गाको आयस्ताको थोरै रकम मात्र प्राप्त हुने गरेको पनि देखिन्छ । कतै न आयस्ता न जग्गाको अवस्था पनि छ । त्यसको उदाहरण थिमि लोकेश्वरको जात्राको गुठी हो । सो जात्राको गुठी जग्गा सात रोपनी भए पनि ३७ रुपियाँ मात्र गुठीबाट प्राप्त हुने र त्यसैले जात्रा सञ्चालन गर्नुपर्ने अवस्था छ । के यसले जात्राको निरन्तरता सम्भव होला ? तर पनि धर्म, सम्पदा र संस्कृतिप्रति अगाध आस्था भएका संस्कृतिप्रेमीले जसोतसो जात्रा सञ्चालन गर्दै हुनुहुन्छ तर कहिलेसम्म ?