• १५ कात्तिक २०८२, शनिबार

‘बिपी–रेणु : मोती–भारतेन्दु’ सङ्ग्रहणीय

blog

साहित्य र राजनीतिमा एकैसाथ सक्रिय गिरिराज आचार्यले ‘नेपाल–भारत सेतु’ कालखण्डलाई अध्ययन गर्न सकिने ऐतिहासिक कृति दिनुभएको छ । ‘बिपी–रेणु : मोती–भारतेन्दु’ शीर्षक आचार्यको पुस्तकमा समाविष्ट विषयले नै नेपाल भारतको ऐतिहासिक कालखण्डलाई जोड्ने सेतुको काम गरेको मर्म उद्घाटित गरेको छ । 

कृतिको नामले नै बिपी अर्थात् आधुनिक नेपालको अग्रणी नेता र साहित्यमा विश्वेश्वरप्रसाद कोइराला । रेणु अर्थात् राजनीति र हिन्दी साहित्यका भारतीय नागरिक फणीश्वरनाथ रेणु । कृतिले यी दुई इतिहासनिर्माता व्यक्तित्वको सान्निध्य र सहकार्यको योग बुझाउँछ । 

जसरी भारतको वाराणसीका भारतेन्दु हरिश्चन्द्र र नेपालको काठमाडौँका मोतीराम भट्टबिच वाराणसीको जम्काभेटले साहित्यमा नयाँ आयाम थपेको छ; त्यसरी नै यात्री बिपी र रेणुको पनि बाटोमा भएको जम्काभेटले नेपाली राजनीतिमा ऊर्जा थपेको बोध यो पुस्तकको अध्ययनले दिन्छ । बिपी र सुशीला कोइरालासँग रेणुको भेट रेलको डिब्बामा हुन्छ । कटिहारबाट विराटनगरस्थित आफ्नो घर फर्कने व्रmममा जोगबनीतर्फ उहाँहरू आउँदै गरेको त्यो रेलमा रेणु पनि रहेछन् । रेणु कहाँ जाँदै हुनुहुन्थ्यो थाहा छैन तर बिपी–सुशीलाले फणीश्वरनाथ रेणुलाई सँगै विराटनगर कोइराला निवासमा ल्याउनुभएको रहेछ । यही निवासको प्रतिनिधि पात्र बनेका रेणुको सोच र जीवनशैली निर्माणमा निवास, विराटनगर र नेपाली क्रान्तिको प्रभाव घनीभूत रह्यो । 

रेणु एकप्रकारले कोइराला निवासमै हुर्किनुभयो । हुर्काइ र पढाइका साथै पहिचान बनाउनुभयो । उहाँको पढाइ पिताजी कृष्णप्रसाद कोइरालाले स्थापना गर्नुभएको विराटनगरस्थित आदर्श विद्यालयमा भयो । लेखक गिरिराज आचार्यले रेणुको लेखबाट गर्नुभएको उद्धरणमा “मेरो बाल्यकाल विराटनगर (नेपाल) को कोइराला निवासमा बित्यो । अर्थात् कोइराला निवासमा मेरो लालनपालन भयो.... ।” यसरी बङ्गाली मूलका भारतीय नागरिक फणीश्वरनाथ रेणुको साहित्यिक र राजनीतिक जीवन निर्माणमा कोइराला निवासको गहिरो प्रभाव औँ 

योगदान रह्यो । 

भनिन्छ, राजनीतिमा नैतिकताले प्रवृत्तिगत शुद्धताको बाटो देखाउँछ र सिकाउँछ । त्यस्तै राजनीति र साहित्य सम्मिश्रित व्यक्तित्व विस्तृत कल्पनाशील नेतृत्व बन्छ । कल्पना सपना हो र योजना । यही विशिष्टताले हुनु पर्छ– बिपी औसत हामीभन्दा अग्लो उचाइमा भेटिनुभएको । रेणु पनि साहित्य र राजनीतिमा समान रूपमा संलग्न रहनुभयो । हिन्दी भाषा साहित्यका लेखक उहाँले राजनीतिमा समेत नेपाल र भारत दुवैतर्फ योगदान दिनुभएको छ । कोइराला परिवारसँगै सात सालको जनक्रान्तिमा संलग्न रेणु भारतको स्वतन्त्रता सङ्ग्राममा पनि उत्तिकै समर्पित भएको पाइन्छ । बिपीबाट पूर्णतः प्रभावित रेणुको केही आनीबानी तारिणीप्रसाद कोइरालासँग मिल्ने रहेछ । पुस्तकमा भनिएको छ, “लेखक, पत्रकार र राजनीतिकर्मी रेणुले तारिणीप्रसाद कोइरालाको नेतृत्वमा सञ्चालित प्रजातन्त्र रेडियो, नेपालमा पनि काम गरेका छन् ।” 

लेखक आचार्यको झन्डै साढे पाँच सय पेजको यो कृति पुस्तकभन्दा पनि ग्रन्थ हो र यसमा समावेश ‘रेणु जन उदय नाटकामा पात्र’ शीर्षकको समीक्षामा सो प्रजातन्त्र रेडियोबाट जारशाही सखाप पारेर बनेको कम्युनिस्ट भनिने रुसले नेपालको क्रान्तिको विरोध गरेको भन्दै ...तर नेपालको ‘जारशाही’ लाई समाप्त पार्न हामीले गरेको सङ्घर्षलाई (रुसको पत्रिकाले समेत) विरोध गर्दै उल्टै राणाको समर्थन गर्दै छन्... आदि । त्यतिबेला प्रसारित समाचारको समेत उल्लेख गरिएको छ । 

“नेपाली क्रान्तिको कथा (इतिहास) का लेखक फणीश्वरनाथ रेणुको ‘मैला आँचल’ निकै लोकप्रिय कथाकृति हो । खासमा विराटनगरस्थित तत्कालीन कोशी अस्पतालसमेत सप्तकोशी क्षेत्रलाई पनि कथावस्तुमा समेटिको ‘मैला आँचल’ का प्रमुख पात्र डा. प्रशान्तको बाल्यकालको पृष्ठभूमि निर्माण गर्नका लागि (रेणुले) हाम्रो परिवारको चित्रण गरेका छन्”, कथा पढेपछि लेख्नुभएको बिपीको जेल डायरी (२०८०) को यो अंश लेखक आचार्यले उद्धृत गर्नुभएको छ ।

कृति आकार र प्रकार दुवैले गहन छ । गिरिराज आचार्य स्वयं राजनीतिकर्मी र साहित्यकार । यही वैशिष्ट्य प्रेरणा वा लगावले हुनु पर्छ– उहाँले राजनीतिज्ञ र साहित्यकारको इतिहास, योगदान समेटेर ग्रन्थ प्रकाशित गर्नुभएको । ‘बिपी–रेणु : मोती–भारतेन्दु’ विधाचाहिँ इतिहास र समालोचना लेखिएको छ तर यति मात्रै किन ? यो ग्रन्थलाई मिश्रित विधाको मान्दा न्याय हुन्छ ।  त्यसो त विगत लेखेपछि इतिहास र आगततिर दृष्टिसोच दिन सक्दा दर्शन भन्ने लेखनको सामान्य प्रचलन हो । तर इतिहासमा आगतको सन्देश दिने सामथ्र्य पनि हुन सक्छ र विगतसँग प्रेरित आगतमा दर्शन अभिव्यक्त हुनसमेत सम्भव छ । ‘बिपी–रेणु : मोती–भारतेन्दु’ र स्वयं आचार्यलगायत अरू केहीको कृतित्व एवं व्यक्तित्वबारे समावेश समीक्षात्मक टिप्पणीका कारण ग्रन्थको विधालाई इतिहास, समालोचना भनिएको हुन सक्छ । 

साहित्यकार आचार्यको कार्यक्षेत्र धरानलाई समेत पढ्न पाइने यस कृतिमा अन्य व्यक्तित्वको पहिचान पनि छ । कृतिमा बिपी रेणु, मोती भारतेन्दु, विविध साहित्य, पारिवारिक खण्ड, प्रतिबन्धित साहित्य र चिठीपत्र गरी छ वटा परिच्छेद छन् । परिच्छेदको विषयनामले नै कृति मिश्रित प्रकृतिको छ भन्ने बुझाउँछ । थुप्रै तस्बिर, आचार्य वंशवृक्ष, साहित्यकार आचार्यका बारेमा गरिएका केही शोधपत्र (प्रथम पेजको फोटोकपी), लाइब्रेरी अफ कंग्रेसमा सूचीकृत आचार्यका केही कृतिको जानकारी र बिपीसमेत धेरै साहित्यकारले आचार्यलाई लेखेका पत्रहरूसमेत (गिरिराज आचार्यका जीवनका महत्वपूर्ण स्मरणहरूको अभिलेख) यो ग्रन्थमा समेटिएका छन् । सत्यसाइको जन्मजयन्तीको यात्रा प्रसङ्ग (निबन्ध) पनि समावेश छ । साहित्यिक त भयो नै, लेखकको पत्रकारिता अनि राजनीतिक आस्था र योगदान पनि कृतिको पहिचान हो । 

उहाँका दुई उपन्यास ‘तुलसा’ र ‘विस्थापित यौवन’ लगायत कविता, नाटक आदि विधाका बारेमा पनि विभिन्न लेखकका समीक्षात्मक टिप्पणी यस कृतिमा पढ्न सकिन्छ । हिन्दीमा लेखिएको कविता र टिप्पणी पनि यसमा समावेश छन् । त्यसैले यो ग्रन्थलाई कुनै एकदुई विधाको भन्दा पनि मिश्रित विधा मान्न सकिन्छ । समीक्षक दधिराज सुवेदीले आचार्यलाई सुधारवादी उपन्यासकार भन्ने टिप्पणी गर्नुभएको छ । सन्त पुरुषबाट शोषित वा प्रताडित र बम्बईमा चुसिएका नारी पात्रको मुक्तिकामी उपन्यास लेखक आचार्य स्वयंले आफ्नो प्रस्तुति ग्रन्थ पढ्दा भाषिक कमजोरीको घोचाइ पक्कै पनि फेला पार्ने छन् ।           

अन्त्यमा, प्रकाशक निरजा कोइराला आचार्य रहनुभएको यस कृतिले खास गरी बिपीबाट प्रेरित रेणु र भारतेन्दुको सङ्गतले प्रभावित मोतीराम भट्टको साहित्यिक यात्रालाई विम्बित गर्छ । नेपाली पत्रकारिता र साहित्यमा मोतीको भूमिका पनि यसमा समावेश छ । नेपाल र भारतको राजनीति, साहित्यको कालखण्ड वा योगदानलाई उजागर गर्ने यस कृतिको सन्देशले दुई देशबिचको जनसम्बन्धलाई उद्घाटित गरेको छ । प्रस्तुत विषय सरसर्ती पढ्दा बुझिन्छ– नेपाल र भारतबिच सांस्कृतिक, भौगोलिक वा प्राकृतिक सम्बन्ध भनिने पारम्परिक व्याख्यामा राजनीतिक, साहित्यिकलगायत विधाले पनि जनस्तरको सम्बन्ध स्थापित गरेको छ । यही माध्यमले कृतिको शीर्षमा ‘नेपाल–भारत सेतु’ लेखिएको छ ।