• १३ साउन २०८१, आइतबार

सन्दकपुर डाँडा पदमार्ग निर्माण

blog

प्रेम अधिकारी 

पशुपतिनगर, साउन २६ गते । इलामको प्रमुख पर्यटकीय गन्तव्य मानिएको सन्दकपुर डाँडा पदमार्गले जोडिएको छ । सङ्घीय सरकारको आर्थिक लगानीमा माईपोखरीबाट सन्दकपुर जोड्ने पदमार्गको छिन्टापु–सन्दकपुर खण्डको निर्माण पूरा भएको हो ।

रामसार क्षेत्र माईपोखरीबाट सुरु भएको पदमार्गको निर्माण पूरा भएसँगै भारतीय पर्यटकको आवतजावत बढेको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिनुभयो । कुल ५० किलोमिटर लामो पदमार्गको छिन्टापु–सन्दकपुर जोड्ने खण्ड निर्माण भएपछि अहिले पर्यटक पदयात्रामा निस्कन थालेका छन् । पदयात्राका लागि छिमेकी देश भारतका पर्यटक बढी आउने गरेका छन् । 

माईपोखरी–छिन्टापु पदमार्ग एक वर्षअघि जोडिएको थियो । छिन्टापुबाट सन्दकपुरको आहालसम्म १० किलोमिटर पदमार्ग गत आर्थिक वर्षमा निर्माण भएको थियो । पदमार्ग निर्माणपछि पर्यटक आवतजावतमा सहज भएको छ । पछिल्लो समय नेपाली, भारतीय र तेस्रो देशका पर्यटकले पदयात्रा गर्न रुचाउने गरेका पाइएको छ । 

उक्त पदमार्गमा यात्रा गर्दा हिमाली दृश्य, सूर्योदय, सूर्यास्त, वन्यजन्तु, चराचुरुङ्गी र विभिन्न प्रजातिका वनस्पतिको दृश्यावलोकन गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ बाह्रै महिना पदयात्राका लागि पर्यटक आउँछन् । त्यही अनुसारको व्यवस्थापनमा अझै ध्यान दिन जरुरी छ ।”

पदमार्ग निर्माणसँगै उक्त क्षेत्रमा अहिले विद्युत् विस्तारको काम पनि हुँदै छ । पदमार्गसँगै उक्त क्षेत्रमा होमस्टे र गेस्ट हाउस निर्माण गरिएको छ । हिमाली दृश्यावलोकनसहित चिसो मौसममा पर्यटक रम्ने भएकाले पर्यटकको बास लम्ब्याउने गरी गन्तव्य निर्माण गर्नुपर्ने सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले बताउनुभयो  । “पदमार्ग निर्माण भए पनि पदमार्गसँगै निर्माण गर्नुपर्ने अझै धेरै संरचना छन्,” उहाँले भन्नुभयो, “विकास निर्माणका नाममा हामीले प्रकृतिलाई अलिकति पनि असर ग-याँै भने सन्दकपुरको सौदन्र्य नै सकिन्छ । त्यसैले प्रकृति जोगाएर काम गरिरहेका छौँ ।” समुद्री सतहको एक हजार छ सय मिटरदेखि तीन हजार ६३६ मिटरको उचाइसम्म उक्त पदमार्गमा यात्रा गर्न सकिन्छ । 

उक्त क्षेत्रबाट निर्वाचित कोशी प्रदेश सभा सदस्य खिनु लङ्वा लिम्बूले पदमार्ग निर्माणबाट पर्यटकलाई सहज भए पनि पर्यटकलाई टिकाइराख्न अझै धेरै संरचना निर्माण आवश्यक रहेको बताउनुभयो । पर्यटक ग्रामका एक सय गन्तव्यको सूचीमा परेको सन्दकपुरको विकास र पर्यटन प्रवर्धनका लागि सङ्घीय सरकारले बजेट नदिएको उहाँको आरोप छ । सन्दकपुरसहितका पर्यटकीय क्षेत्रको विकासमा तीनै तहका सरकार सँगसँगै लाग्नुपर्ने उहाँले बताउनुभयो ।