• १३ साउन २०८१, आइतबार

वर्षाले किसानलाई राहत

blog

फाइल तस्विर ।

सन्तोष सुवेदी

सिराहा, साउन २३ गते । लामो समय वर्षा नभएका कारण चिन्तित रहेका सिराहाका किसानलाई दुई दिनयता परिरहेको वर्षाले केही राहत दिएको छ । वर्षा हुनुपर्ने बेला वर्षा नभएपछि सिराहामा कुल धान खेतीयोग्य जग्गामध्ये ५५ प्रतिशत जग्गामा मात्र धान खेती भएको छ । 

कृषि ज्ञान केन्द्र सिराहाका अनुसार सिराहामा ५४ हजार हेक्टर धान खेतीयोग्य भूमि छ । खेती भएको जग्गामा समेत वर्षाको पानी र सिंचाइको अभावका कारण धानको बाली सुक्दै गएको थियो । 

कमला नहर पूर्वी प्रणाली, भूमिगत जलस्राेत सिंचाइ योजना, सिंचाइ कार्यालय तथा कृषि मिटर गरेर सिरहामा २२ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध छ । तर कमला नहर पूर्वी प्रणालीबाहेक अन्य सबै सिंचाइ योजनाहरु लामो समयसम्म वर्षा नभएका कारण देखापरेको खडेरीले भूमिगत पानीको स्राेत सुक्दै गएकोले प्रयोगविहीन अवस्थामा रहेको कृषि ज्ञान केन्द्र सिराहाले जनाएको छ । 

सिंचाइको अभाव तथा वर्षा नभएका केही भागमा किसानले कृषि मिटरले सिंचाइ गरे पनि अत्यधिक विद्युतीय खपतको कारण सिराहामा विभिन्न सबस्टेशनमा रहेको ट्रान्सफर्मर जल्ने गरेकाले विद्युत् अवरुद्ध हुने गरेको थियो । सोमबारदेखि मुसलधारे पानी परेपछि चिरा परको धानको खेत बल्ल रसाउन थालेको छ । 

कृषि ज्ञान केन्द्र सिराहाका प्रमुख नरेन्द्र कुमार महासेठले सिंचाइको अभावले खेती हुन नसकेका धान खेतमा किसानले अहिले पनि रोपाइँको तयारी गरिरहेको बताउनुभयो । “ढिलो रोपाइँ हुने भएकाले आशा गरिएको जस्तो धान उत्पादन हुन त सक्दैन तर जे जति रोपाइँ भए पनि त्यसले किसानलाई राहत भने दिन सक्छ”, ज्ञान केन्द्रका प्रमुख महासेठले भन्नुभयो ।

असार १५ गतेदेखि साउन १५ गतेसम्म रोपाइँको समय भए पनि सिराहामा किसानले साउन अन्तिमसम्म रोपाइँ गर्ने भएकोले यहाँ धानको रोपाइँ अझै बढ्न सक्छ ।