यादवराज पुरी
रौतहट, साउन २३ गते । जिल्ला कारागार रौतहटमा क्षमताभन्दा झण्डै दोब्बर कैदीबन्दी रहेको कारण उनीहरूको दिनचर्या कठिन बनेको छ । जसले गर्दा भवन थप्न वा बढाउनु जरुरी छ ।
करिब दुई सय जनाको क्षमता रहेको कारागार भवनमा हाल तीन सय ७६ कैदीबन्दी राख्नु पर्ने अवस्थाले उनीहरूको दिनचर्या कठिन बनेको कारण भवन विस्तार गर्न जरुरी देखिएको हो ।
कारागार कार्यालय गौरका प्रमुख ‘जेलर’ मणिभूषण साहले भन्नुभयो, “क्षमताभन्दा अधिक कैदीबन्दी हुँदा एउटै कोठामा धेरै जना कोचेर राख्नु पर्ने बाध्यता छ । जसले गर्दा उनीहरूको सुताइ र स्वास्थ्यमा समस्या परेको छ । धेरै कैदीबन्दी रहेकै कारण उनीहरूको समस्याको उपयुक्त ढङ्गले समाधान गर्न सकिएको छैन । भवन थप्न वा बढाउन सकिएमा उक्त समस्या समाधान हुनेछ ।”
उहाँका अनुसार पुरानो जीर्ण भवन रहेको सो कारागारमा वर्षाको पानी पस्दा कैदीबन्दीले निकै ठुलो सास्ती भोग्नु परेको छ । सडकको सतहभन्दा होचो संरचनाले वर्षाको भेल कारागारभित्र नै पस्ने हुँदा कैदीबन्दीलाई बस्न र सुत्न निकै ठुलो समस्या छ । पानीको निकास नहुँदा पानी तान्ने मोटर लगाएर कारागारभित्र जमेको पानी बाहिर फाल्ने गरिन्छ ।
यस्तै, सङ्ख्या अधिक हुँदा कोही कैदीबन्दी बरण्डा र भर्याङ मुनी त कोही भान्साको काम सकिएपछि झान्सा कोठामा सुत्ने गरेको एक कैदीले बताउनुभयो । कोचिएर सुत्नु पर्ने बाध्यताले अधिकांश बन्दीमा दाद, दिनाई, लुतो, एक्जिम्मा जस्ता सरुवा चर्म रोग फैलिएको पाइएको छ । समय–समयमा उपचार पाउँदा पनि कोचिएर सुत्दाको अवस्था र वर्षाको फोहोर पानी कारागार भित्र पस्दा छालाजन्य रोगले सताउने गरेको बन्दीहरूको गुनासो छ ।
यता प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कारागारको जग्गा अतिक्रमण भएको कारण कारागार भवन बढाउन समस्या भएको बताउनुभयो । कारागार भवनदेखि दक्षिणतर्फको जमिन अतिक्रमित छ । जिल्ला नापी कार्यालय र मालपोत कार्यालयसँगको अभिलेखले उक्त कुरा यकिन भएको बताउनुहुँदै उहाँले अतिक्रमित जमिन खाली गराई कारागार भवन बढाउन सकिने सम्भावना रहेकाले सो कार्य यथाशीघ्र गरिने बिचार दृढताका साथ व्यक्त गर्नुभयो । यस सम्बन्धमा कारागार व्यवस्थापन विभागमा समेत पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो ।
विक्रम संवत् १९८९ सालमा अर्थात् ९१ वर्ष अघि निर्माण भएको उक्त कारागारको मर्मत सम्भार र भवन विस्तार गर्न अत्यन्त जरुरी छ । हाल कारागारमा २० जना महिलाले बन्दी जीवन बिताइरहेका छन् । जसमध्ये दुई जना नाबालिक पनि छन् ।