• १३ साउन २०८१, आइतबार

‘ब्लु बस’ रुट परिवर्तन गर्न प्रक्रिया प्रारम्भ

blog

वसन्त पराजुली/दीपक गौतम 

भरतपुर/वीरगन्ज, साउन २३ गते । रङ र रुटको प्रयोगमा समस्या देखिएको ‘ब्लु बस’ को रुट परिवर्तनका लागि प्रक्रिया सुरु भएको छ । तर नयाँ रङ परिवर्तन गर्दाको भ्याट बिलसमेत राखेर यातायात कार्यालयमा निवेदन दिनुपर्ने भएका कारण रङ परिवर्तनका लागि सोमबार निवेदन पर्न सकेन ।

पत्रु बनाउनुपर्ने ना २ च ५६१९ एम्बुलेन्स गैरकानुनी रूपमा रङ परिवर्तन गरी ‘मोबाइल क्लिनिक’ सञ्चालन गरेको र अर्को एक भाडाको बसलाई पनि गैरकानुनी रूपमा रङ परिवर्तन गरी इजाजत नपाएको रुटमा सञ्चालन गरेको पाइएपछि किस्तामा गल्ती सच्याउने काम भइरहेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका बासिन्दालाई लाभ दिने गरी दलगत राजनीतिक उद्देश्य प्राप्तिका लागि गरिएका काम सच्याउन प्रक्रिया थालिएको हो । यसबारे गोरखापत्रले निरन्तर समाचार प्रकाशन गरेकामा उहाँले यी कार्यमा कुनै समस्या नरहेको दाबी गर्नुभएको थियो । 

महिलाका लागि निःशुल्क सेवा दिने घोषणा गर्नुभएको ना ५ ख ३१३८ नम्बरको ‘ब्लु बस’ चितवनमा चल्ने गरी रुट इजाजतका लागि प्रक्रिया सुरु गरिएको अध्यक्ष लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले बताउनुभयो ।  उहाँका अनुसार सचिवालयकै सक्रियतामा बस धनी भीमबहादुर तमाङले यातायात व्यवस्था कार्यालय भरतपुरमा प्रक्रियाका लागि निवेदन दिएका जानकारी दिनुभयो । 

बस धनी भीमबहादुर तमाङका नामबाट यातायात कार्यालय भरतपुरमा रुट परमिट परिवर्तनका लागि दिएको निवदेनउपर कार्यालयका अधिकृत सुरेश चपाईंले सवारी परमिट शाखाका नाममा आवश्यक प्रक्रिया अगाडि बढाउन तोक लगाउनुभएको छ । 

कार्यालयका अधिकृत गोविन्द्रप्रसाद पौडेलले रुट इजाजत परिवर्तन गर्ने आफ्नो कार्यालयको अधिकार भए पनि रङ परिवर्तन भने बस दर्ता गरेकै नारायणी यातायात व्यवस्था कार्यालय वीरगन्जबाटै गराउनुपर्ने भन्दै थप प्रव्रिmयाका लागि बसधनीलाई वीरगन्ज पठाइएको जानकारी दिनुभयो । 

रङ परिवर्तन भएको बसले तत्काल रुट परिवर्तनको इजाजत भने नपाउने भएको छ । अधिकृत पौडेलले भन्नुभयो, “रङ वा गाडीको स्वरूप परिवर्तन जुन कार्यालयमा बस दर्ता छ, त्यही कार्यालयबाट गर्ने हो । रङ परिवर्तनको अनुमति वीरगन्जबाट लिएर आएसँगै हामी रुट इजाजत परिवर्तनको अनुमति दिन्छौँ ।” 

रङ र रुटको समस्या समाधानका लागि यातायात कार्यालय भरतपुरमा लामिछानेको सचिवालयका कार्यकारी निर्देशक डा. हेमन्त बराल स्वयं पुग्नुभएको थियो । रास्वपाको टोलीले रङ र रुटको समस्यामा अज्ञानतावश त्रुटि भएको स्विकार्दै सच्याउन माग गरेर कार्यालय आएको बताएको कार्यालयका अधिकृत सुरेश चपाईले जानकारी दिनुभयो । 

थप प्रक्रिया वीरगन्जबाट गर्नुपर्ने भए पनि बसधनी तामाङसहितको रास्वपाको टिम सोमबार वीरगन्ज गएन । तर पनि नियमित सम्पर्कमा भने रहेको यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख उमेश रेग्मीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हामीले रङ परिवर्तन गर्दाको खर्चको भ्याट बिलमा मागेका छौँ ।” अनुमति नलिई रङ परिवर्तन गर्ने सवारीधनीलाई कार्यालयले एक हजार पचास रुपियाँदेखि पाँच हजार रुपियाँसम्म जरिबाना गर्ने व्यवस्था रहेको पनि  उहाँले बताउनुभयो । 

बसका सञ्चालक तामाङले भने आफूहरू सोमबार नभ्याएकाले मङ्गलबार वीरगन्ज जाने तयारी गरेको जानकारी दिनुभयो । “हामीसँग बस रङ गरेको भ्याट बिल छ । त्यो खर्च गरेकै हो । त्यो लिएर जान्छौँ र परिवर्तन गरेर आउँछौँ,” उहाँले भन्नुभयो । 

अध्यक्ष लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा साउन १७ गतेदेखि ‘ब्लु बस’ सञ्चालनमा ल्याउनुभएको हो । ना ५ ख ३१३८ नम्बरको सो बसलाई यातायात कार्यालयबाट  अनुमति नलिई रङ परिवर्तन गरी निलो बनाइएको र रुट इजाजत पनि परिवर्तन नगरी चितवनको भित्री सडकमा सञ्चालन गरिएको समाचार गोरखापत्रले सार्वजनिक गरेको थियो । 

सो बसको रुट इजाजत अहिले वीरगन्ज नारायणगढ, पोखरा, बागलुङको छ । अब परिवर्तन गरी कालिका नगरपालिकादेखि भरतपुर महानगर हुँदै इच्छाकामनासम्म सञ्चालन गर्न पाउनुपर्ने माग बसधनी तामाङको छ । तर त्यो माग अनुसार अनुमति दिन नसकिने अधिकृत पौडेलले जानकारी दिनुभयो । 

“हामीले अहिले दिने भनेको अस्थायी परमिट हो, त्यो पनि एउटा सडकको मात्रै उहाँहरूले पहिला कुन सडकमा गाडी चलाउने भन्ने स्पष्ट हुनु पर्छ,” उहाँले भन्नुभयो । कालिका नगरपालिकामा शक्तिखोरदेखि पदमपुर टिकौली जङ्गल हुँदै भरतपुर–नारायणगढ एउटा रुट, नारायणगढदेखि इच्छाकामनाको मुग्लिङ कुरिनटारसम्मको चितवनभित्रको भागमा दोस्रो रुट रहने अधिकृत पौडेलले बताउनुभयो ।