काठमाडौं, साउन २१ गते। राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकारले गोरखापत्रले पछिल्लो समयमा गरेका सुधारका कार्यको प्रशंसा गर्नुभएको छ। गोरखापत्र संस्थानमा राखिएका तस्बिर प्रदर्शनीको अवलोकन गर्न आउनुभएका राष्ट्रपतिका सल्लाहकारले यस्तो धारणा राख्नुभएको हो। उहाँहरूले गोरखापत्रका प्रकाशन, संस्थानकाे आर्थिक तथा भौतिक प्रगति अवस्थाको बारेमा चासो राख्नुभएको थियो।
राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापाले कुनै बेला गोरखापत्र सूचनाका लागि पढिने गरेकोमा अहिले यसका सामग्रीमा परिवर्तन आएको बताउनुभएको छ।
गोरखापत्र संस्थानमा राखिएका तस्बिरको प्रदर्शनीको अवलोकन गर्न आउनुभएका राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले यस्तो भनाइ राख्नुभएको हो।
थापाले भन्नुभयो, ‘‘कुनै बेला गोरखापत्र सूचना अर्थात् टेण्डरका लागि मात्रै पढ्ने गरिन्थ्यो, अहिले परिवर्तन भएको छ, समाचारका विषय त सबै एउटै हुन सक्छन् तर गोरखापत्रका समाचार लेखन, सम्पादकीय र विचारको प्रस्तुतीकरणमा फरकपन आएको छ, मलाई खुसी लागेको छ।’’
यसैगरी, राष्ट्रपति पौडेलका अर्थ सल्लाहकार डा. चिरञ्जीवी नेपाल, अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकार डा. सुरेशचन्द्र चालिसे, प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपति पौडेलकी छोरी अवज्ञा पौडेलले फोटो प्रदर्शनीको अवलोकन गर्नुभयो।
उहाँहरूलाई संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले स्वागत गर्नुभयो। साथै उहाँहरूले राष्ट्रपतिका सल्लाहकारलाई मायाको चिनोस्वरुप गोरखापत्रको पहिलो अङ्कको प्रतिकृति प्रदान गर्नुभयो।
कार्यकारी अध्यक्ष सुवेदीले गोरखापत्र वर्तमान डिजिटल युग सुहाउँदो परिवर्तन र सुधार गरेर प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरो रूपमा प्रस्तुत गर्न नयाँ कार्ययोजनासहित अघि बढेको बताउनुभयो ।
संस्थानसँग उपलब्ध जनशक्तिको प्रभावकारी परिचालन तथा संस्थानको आन्तरिक प्रशासन तथा पद्धतिमा गरिएको व्यापक सुधारसँगै सम्पादकीय उत्पादन (गोरखापत्र दैनिक, दि राइजिङ नेपाल तथा अन्य प्रकाशन) को डिजाइन लेआउटमा गरिएको परिवर्तन तथा समाचार सामग्रीको प्रस्तुति एवम् गुणस्तरमा भएको अभिवृद्धिले सकारात्मक प्रभाव संस्थानको आम्दानीमा देखिएको उल्लेख गर्नुभयो।
गएको आर्थिक वर्षमा त्यस अघिको आर्थिक वर्षको तुलनामा २६ प्रतिशत अर्थात् करिब १५ करोडले आम्दानी वृद्धि भएको बताउँदै भन्नुभयो, "अघिल्लो आर्थिक वर्ष (०७८/७९) मा वार्षिक आम्दानी ५७ करोड थियो । पछिल्लो आर्थिक वर्ष ७९/८० मा ७२ करोड आम्दानी प्राप्त भएको छ। आर्थिक मन्दीसँगै विज्ञापनको बजार खुम्चिँदै गएको अवस्थामा संस्थानको कमाइमा देखिएको उल्लेखनीय सुधारले आत्मनिर्भर हुने बाटोमा थप ऊर्जा मिलेको छ।" कार्यकारी अध्यक्ष सुवेदीले पछिल्लो समय डिजिटल प्लेटफर्मको सुधारमा विशेष जोड दिइएको बताउनुभयो।
राष्ट्रपतिका सल्लाहकारले गोरखापत्रका माध्यमबाट नेपालका भाषा, संस्कृतिको विकासमा विशिष्ट योगदान पुर्याएको चर्चा गर्दै राष्ट्रपति कार्यालयबाट हुने सम्भव भएसम्मका सबै सहयोग रहने वचन दिनुभयो। कार्यक्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, प्रमुख समाचारदाता केदार भट्टराई, गोरखापत्र अनलाइन प्रकाशनका सम्पादक नारदमुनि गौतम, संस्थानको प्रशासन विभागका निर्देशक ओमप्रकाश भुसाल, फोटोग्राफी प्रमुख रामप्रसाद हुमागाईंलगायत सहभागी हुनुहुन्थ्यो।