• १३ साउन २०८१, आइतबार

तामाकोसीको हकप्रद सेयर साउन २६ गते बन्द

blog

बाबुराम शर्मा 

दोलखा, साउन १९ गते । दोलखाको बिगु गाउँपालिका–लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद सेयर निष्कासनका लागि बुकक्लोज मिति तोकेको छ ।

सञ्चालक समितिको असार २८ गते बसेको बैठकले शतप्रतिशत हकप्रद प्रयोजनका लागि साउन २६ गते बुकक्लोज मिति तोकेको हो । सो अनुसार साउन २५ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

आयोजनाले प्रतिकित्ता सय रुपियाँ दरले १० अर्ब ५९ करोड रुपियाँ बराबरको १० करोड ५९ लाख कित्ता सेयर जारी गर्न लागेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने बताइएको छ ।

आयोजनाले हकप्रद सेयर जारी गर्न रेटिङ समेत गराइसकेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर बीबी असाइन्ड’ रेटिङ दिएको छ । उक्त रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता मध्यम जोखिम रहेका जनाउँदछ ।

आयोजनाले हकप्रद सेयर जारी गर्नका लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक र सनराइज क्यापिटललाई बिक्री सह–प्रबन्धकमा नियुक्त गरिसकेको छ ।