• १४ पुस २०८१, आइतबार

पाणिनि महर्षिको अर्चना

blog

कर्मक्षेत्र अध्यापन एवं राष्ट्रसेवाका पोख्त अनुभवी खगेश्वर गौतम सिद्धहस्त कवि पनि हुन् । पाणिनि महर्षिको अर्चना २०७९ कवि खगेश्वर गौतमद्वारा रचित तेस्रो मौलिक काव्य नै त्यसको उदाहरण हो ।

आजभन्दा झन्डै ३००० वर्ष अघिको पाणिनि महर्षिको यथार्थ इतिहास खोतलिएको प्रस्तुत काव्यले शलङ्क ऋषिको कुलमा जन्मेका महर्षि वंशलाई शालङ्कायन भनिने गरेको खुलासा गर्छ । साथै पाणिनिका पिता पाणिन, माता दाक्षी र उनका गुरुको नाम उपवर्ष भएको रहस्य खुलेको छ यस काव्यमा । 

हालको सालातुर गान्धार (लाहोर) आर्यवर्त अन्तर्गतको पाकिस्तानमा जन्मी, नेपालको अर्घाखाँची पाणिनि गा.पा. अन्तर्गत अग्लो महाभारत टाकुरी दहमा आई पाणिनिले कठोर तपस्या र साधना गरेको कुरा चिनियाँ यात्री हुयन साङले आफ्नो यात्रा वर्णनमा समेत उल्लेख गरेका छन् । पाणिनिको साधनाबाट सन्तुष्ट शिव महादेवले डमरु बजाएर आशीर्वाद दिएका थिए । साथै डमरु आवाजबाट शिवले चौभशूत्रको समेत वरदान दिएका थिए । यसैका आधारमा वैज्ञानिक ढङ्गले संस्कृत व्याकरणको महìव वृद्धिसँगै संस्कृत व्याकरणको गरिमा संसारभर विकसित भएको रहस्य खुलाएका छन् काव्यस्रष्टाले प्रस्तुत काव्यमा । जम्मा ११ सर्गमा विभक्त प्रस्तुत काव्यमा १२०० भन्दा बढी श्लोक सङ्ख्याको प्रयोगद्वारा काव्यले काव्यसिद्धान्तको मान्यतालाई आत्मसात गरेको छ । काव्यको उठान अनुष्टुप छन्दमा भई सर्गको अन्त्यतिर छन्द परिवर्तनले महाकाव्यको लक्षलाई पच्छ्याएको भान हुन्छ । अनुष्टुप, उपजाति, वसन्ततिलका, मालिनी, मन्दाक्रान्ता, शिखरिणी, वंशास्त, शार्दूलविक्रीडित लगायतका दुर्लभ छन्दको प्रयोगबाट काव्यको विविधतालाई छर्लङ्ग्याएको छ ।

खगेश्वर गौतमद्वारा रचित प्रस्तुत पाणिनि काव्य अष्टाध्यायी पाणिनिको विश्वप्रसिद्ध ग्रन्थलाई संस्कृत व्याकरणको सूत्रात्मक गुदी ग्रन्थी पनि भनिन्छ । अत्यन्तै शुद्ध, औपचारिक तथा परिष्कृत भाषाको सबल प्रमाण जुटाएर लेखिएको प्रस्तुत काव्यले यस विषयका यसअघिका कर्मलाई सहजै ओझेल पारेको छ । उन्नाइसौँ शताब्दिका महान् पाश्चात्य विद्वान्हरूसमेत आफ्नो अङ्ग्रेजी व्याकरण (ग्रामर) मा पाणिनिको प्रभाव स्वीकार्नु अङ्ग्रेजी शुद्धाशुद्धिमा संस्कृत व्याकरणको प्रभाव हाबी हुनु हो । 

वास्तवमा पाणिनिको जीवन कर्ममा आधारित श्रद्धा, भक्ति र प्रेमरसको त्रिवेणी सङ्गम हो प्रस्तुत छन्द पाणिनि काव्य । साथै काव्यस्रष्टाभित्रको वर्तमान देशको विकृति विसङ्गतिप्रति प्रकट चिन्तन र भावनाको ज्वालामुखी प्रकटको घोषणा सन्देश पनि हो प्रस्तुत काव्य । पाणिनिको पाकिस्तानबाट भारत यात्रा, तक्षशिलामा अध्ययन, त्रिवेणी सिमानाबाट नेपाल प्रवेशको साङ्गोपाङ्गो यात्रा विवरणसमेत पस्केर पाठकीय सन्तुष्टिको स्वादिस्ट खुराक बनेको छ काव्य । साथै नेपालको भौगोलिक सभ्यताको वर्णन, अर्घाखाँची पणेनाको आश्रमस्थलको फेहरिस्त मानचित्र उतार्नुका अतिरिक्त आसपासको रुरुक्षेत्र, बाणगङ्गाको चिनारी झल्काइएको छ । यसरी पाणिनिको देहत्यागसम्मको सूक्ष्म रहस्य, खुलाइएको आदिम संस्कृतको मौलिक दस्तावेज महर्षि पाणिनि काव्यको समग्र चित्रणलाई निम्न हरफ कविताले सिद्ध गर्दछ ।

“पाणिनि खोज्दथे जस्तो त्यै पाए स्थल सुन्दर

जपध्यान गरी पाठ बसौँ लाग्यो यतैतिर ।

गुलियो, अमिलो टर्रो स्वाद नौला थरीथरी 

फल चाख्दै पुगे माथि देखे टम्म छ पोखरी” 


कृति :  महर्षि पाणिनि

विधा :  काव्य 

लेखक :  खगेश्वर गौतम 

प्रकाशक :  दधिराम मरासिनी स्मृति प्रतिष्ठान 

प्रकाशन वर्ष :  २०७९

पृष्ठ : २६०

मूल्य  : रु. ३५० ।–