काठमाडौँ, असार २९ गते । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली चुस्त पारिएको बताउनुभएको छ ।
आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि समेत आवश्यक गृहकार्य भइरहेको बताउनु भयो । उहाँले गृह मन्त्रालय मातहत रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले मनसुनको समय छ । मनसुनको समयमा विभिन्न जोखिमहरू उत्पन्न हुने गर्दछन् । त्यसको जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीलाई दुरुस्त गर्ने, विपद् आइसकेपछि प्रतिकार्यका कामहरू गर्नको लागि तयारी गरिरहेका छौँ । हामीसँग कानुनले नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएको छ । गृह मन्त्रालय त्यसको सम्पर्क मन्त्रालय हो ।’
यस वर्षको मनसुनमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । विपद्का सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार र सामग्रीको भण्डारण, डोजर, एक्स्काभेटर लगायतका हेभी इक्यूपमेन्ट तयारी अवस्थामा रहेको समेत बताइएको छ ।