• २९ असार २०८२, आइतबार

'शान्ति सुरक्षाको लागि समुदाय र प्रहरीले हातेमालो गर्नुपर्छ'

blog

प्रहरी बिट उद्घाटन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, असार २९ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका ३ पिपलनेटामा नेपाल प्रहरीको बिट स्थापना गरिएको छ । स्थानीयको माग र सरकारी कार्यालयमा समेत असुरक्षा रहेपछि जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम पिपलनेटामा प्रहरी बिट स्थापना गरिएको हो । 

प्रहरी बिटको आज एक कार्यक्रमबिच प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले उद्घाटन गर्नुभएको छ । स्थानीयले बिटका लागि जग्गा दान गरेर भवन समेत बनाएपछि आजबाट औपचारिक रुपमा बिट सञ्चालनमा आएको हो । 

प्रहरी बिट उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जिसीले समाजमा शान्ति सुरक्षा र अमनचयन स्थापनाका लागि समुदाय र प्रहरी हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले प्रहरीले समुदायकै हितमा काम गर्ने भएकाले समुदायसँगको खुला छलफलको वातावरण सदा हुनुपर्ने उल्लेख गर्नुभयो । पिपलनेटा क्षेत्रका नागरिकले प्रहरी बिटको माग गर्दै आएकोले र केहि सरकारी कार्यालय समेत रहेकोले जिल्ला प्रहरी कार्यालयले बिट मार्फत प्रहरी सेवा सुरु गरेको उहाँको भनाइ छ । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश बिष्टले प्रहरी बिटको लागि जग्गा र भवन उपलब्ध गराएर स्थानीयवासीले पुण्यको काम गरेको बताउनुभयो । पिपलनेटा क्षेत्रको विभिन्न घटनाहरुमा तत्काल रेस्पोन्स गर्न प्रहरी बिट आवश्यक रहेको डिएसपी बिष्टले उल्लेख गर्नुभयो । उहाँले प्रहरी र स्थानीयको हातेमोलाबाटै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिनेमा जोड दिनुभयो । 

वडा अध्यक्ष दशरथ केसीको अध्यक्षतामा भएको प्रहरी बिट उद्घाटन कार्यक्रममा जग्गादाता टेकबहादुर खड्कालाई सम्मान गरिएको छ । यस अवसरमा बोल्नुहँदे खड्काले आफ्नो बुवाआमाको स्मृतिमा जग्गा उपलब्भ गराएको जानकारी दिनुभयो । उहाँले विगतमा पनि बुवाले सरकारी कार्यालय स्थापनाको लागि जग्गादान गर्नुभएको र अहिले पिपलनेटा क्षेत्रमा प्रहरी बिट अत्यावश्यक रहेकोले आफले इच्छाले जग्गा उपलब्ध गराएको बताउनुभयो । 

कार्यक्रममा प्रहरी बिट भवन निर्माण समितिका अध्यक्ष अध्यक्ष टिकाराम खत्रीले विभन्न ६२ जना सहयोगीदाताहरुको सहयोगबाट भवन बनाईएको जानकारी दिनुभयाे । उहाँले मदिरा र लागुपदार्थ सेवन गरेर गरेर केही व्यक्तिले अशान्ति मच्चाउने गरेको, भएका सरकारी कार्यालयहरुले समेत असुरक्षाको महसुस गर्ने गरेकोले प्रहरी बिट आवश्यक रहेको बताउनुभयो । भवन निर्माणका लागि नगद, निर्माण सामग्री, जग्गा लगायतका विभिन्न माध्यामबाट सहयोग गर्नेहरुलाई उहाँले असल सेवाभाव प्रकट भएको उल्लेख गर्नुभयो ।