काठमाडौं, साउन १५ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
सभामुख देवराज घिमिरेको निर्देशनमा सङ्घीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर अर्को बैठक मङ्गलबार १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको हो ।
यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा (एमाले)ले बैठक अवरुद्ध गरेको थियो ।
सदन खुलाउन सोमबार बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकारले अगाडि बढाएका महत्त्वपूर्ण विधेयकको प्रक्रिया अगाडि नबढेकामा चासाे व्यक्त गर्दै प्रधानमन्त्रीले संसद्को काम कारबाहीलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभएको हो ।
छलफलमा नेपाली कांग्रेस मुख्य सचेतक रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी हुनुहुन्थ्यो ।