• १३ साउन २०८१, आइतबार

खडेरीको पीडा

कतै खेत वाँझै कतै बाली बिरुवा सुक्दै

blog

खडेरीले सुक्न लागेका रोपो देखाउँदै कृषक । तस्बिर : गोरखापत्र

रवीन्द्र उप्रेती

बर्दिबास, साउन १३ गते । मनसुनी वर्षा नहुँदा महोत्तरीका अधिकांश खेतहरू बाँझै छन् । साउनको दोस्रो साता वित्न लाग्दा पनि यहाँ थोपो पानी नपरेपछि अकालको अवस्थाले किसानहरू चिन्तामा छन् । 

कृषि ज्ञान केन्द्रकाअनुसार साउन दोस्रो सातासम्म महोत्तरीमा ४० प्रतिशत मात्र रोपाई भएको छ । जिल्लामा धान खेतको क्षेत्रफल ४५ हजार हेक्टर छ । त्यसमध्ये अहिलेसम्म स्यालो ट्युबवेल, डिप वोरिङबाट महँगो सिचाई गरी नौ हजार ९ सय हेक्टर क्षेत्रफलमा मात्र रोपाई भएको ज्ञान केन्द्र प्रमुख रामचन्द्र यादवले जनाउनुभयो । 

महँगो लागत लगाएर रोपिएका रोपो पनि वर्षा नहुँदा सुक्न थालेका छन् । पानी अभावले धान खेतमा धाँजो फाटेका छन् । वर्षको आसमा धानका ब्याड र बेर्ना छिप्पिन थालेपछि किसानले गाईबस्तुलाई ख्वाउनु थालेका छन् । 


बर्दिबास ४ का हरिबहादुर रानाले १० कठ्ठा खेतको लागि राखेको ब्याड अव खेतमै जोतेर मास्न लागेको बताउनु भयो । बाँझो खेतमा शुक्रवार हलो जोतिरहनु भएको उहाँले अव पानी परिहाले पनि खासै उत्पादन नहुने भएका कारण बाध्य भएर ब्याड मास्न लागेको बताउनुभयो । 

अनावृष्टिको प्रभाव धान खेतीमा मात्र नभएर समग्र कृषि क्षेत्रमा देखिएको छ । खडेरीले मकै र वर्षे कोदो खेतीसमेत सखाप भएको स्थानीय कृषकले जनाएका छन् । गत वर्ष मौसम अनुकूल हुँदा महोत्तरीका चार हजार २०० हेक्टरमा मकै खेती भई बीस हजार १६० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

यसपाला भने सुख्खाले मकैका बोट पहेँलिन थालेपछि कृषकले चौपायालाई घाँस खुवाएका छन् । खडेरीले गर्दा बर्दिबासको सुदूर उत्तरी क्षेत्रमा पर्ने वडा नं ५ टुटेश्वरमा ४० विग्हामा लगाइएका रैथाने मकैका बोट सुकेर गएको स्थानीय कृषक रामबहादुर श्रेष्ठले बताउनुभयो ।

उहाँकाअनुसार फागुन महिनातिर पानी पर्दा छरेको मकैका बोट सुरुमा सप्रेर आएको थियो । त्यस यता पानी पर्दै परेन । चिस्यान अभावमा मकैका बोट सुक्न थालेपछि वस्तुभाउका लागि घाँस बनाएको उहाँले बताउनुभयो । 

उत्तरी क्षेत्रमा मकै भित्राएर सोही खेतमा धान लगाई किसानले दोहरो उत्पादन लिने गरेका छन् । ‘‘यसपाला त न मकै भयो न धानै रोम्न पाईयो’ श्रेष्ठले उजाड फाँट देखाउँदै पीडा पोख्नुभयो ‘गाउँका सारा खेत वाँझै छन् ।’’


सुख्खाग्रस्त टुटेश्वर क्षेत्रमा सिँचाईको वैकल्पिक अवस्था नहुँदा पनि बाली बिरुवा जोगाउन नपाएको कृषकको भनाई छ । लामो खडेरीले परिस्थिति प्रतिकूल हदै गए पनि तीनै तहका सरकारले अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेका छैनन् ।