• ८ मंसिर २०८१, शनिबार

बजार अनुगमन : ६५ प्रतिशत व्यवसायी फर्ममा कैफियत

blog

काठमाडौँ, साउन ९ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७९/८० मा बजार अनुगमन गरेकामध्ये ६५ प्रतिशत व्यवसायी फर्ममा कुनै न कुनै कैफियत भेटिएको छ । विभागले २०७९ साउनदेखि २०८० असारसम्म उपत्यकामा अनुगमन गरेका तीन हजार ६९५ व्यवसायी फर्ममध्ये दुई हजार ३३८ वटा व्यवसायी फर्ममा कैफियत भेटिएको हो । 

विभागका अनुसार विभागले यस अवधिमा अनुगमन गरेकामध्ये ७९९ व्यवसायी फर्मलाई न्यूनतम पाँच हजारदेखि तीन लाख रुपियाँसम्म जरिबाना गरेको छ भने ९१ वटामा म्याद नाघेका उपभोग्य सामान नष्ट गरेको छ । जरिबाना गरेका ७९९ वटा व्यवसायी फर्मबाट एक करोड ९८ लाख चार हजार राजस्व सङ्कलन गरेको छ भने उपभोग्य म्याद सकिएका सामान बिक्री गरेका ९१ वटा व्यवसायी फर्मबाट एक करोड ६४ लाख ३२ हजार बराबरको सामान नष्ट गरेको विभागले जनाएको छ । 

यस अवधिमा अनुगमन गरिएका व्यवसायी फर्ममध्ये २९३ वटा व्यवसायी फर्मलाई आवश्यक सुधार भएको प्रमाण विभागमा पेस गर्न निर्देशन दिइएको छ भने एक हजार १५५ वटा व्यवसायी फर्मलाई व्यवसायी दर्ता नवीकरणको निर्देशनसहित स्पष्टीकरण तथा बयानका लागि आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा तीन हजार ८१८ वटा व्यवसायी फर्मको अनुगमन भएकामा एक हजार ४८० व्यवसायी फर्म सामान्य अवस्थामा रहेका छन् ।  

बजार अनुगमन प्रभाव सकारात्मक

विभागका अनुसार सो अवधिमा बजार अनुगमन तीन हजार ८१८ वटा व्यवसायी फर्ममध्ये एक हजार ४८० वटा व्यवसायी फर्म सामान्य अवस्थामा भेटिनुलाई सुधार भएको मान्न सकिन्छ । विभागका निर्देशक होमनाथ भट्टराईले बजार विगतको तुलनामा धेरै सुधार भएको दाबी गर्नुभयो । उपत्यकाका ठुला व्यवसायी फर्महरू सुधार भएको भन्दै उहाँले आगामी वर्ष अझै बढी सुधार हुने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो पटक अनुगमनका क्रममा म्याद नाघेका वा उपभोगका लागि असुरक्षित मानिने वस्तु बिक्रीमा धेरै सुधार आएको दाबी निर्देशक भट्टराईले गर्नुभयो । विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन हजार १४७ फर्मको अनुगमन गर्दा ३१२ फर्म मात्र सामान्य अवस्थामा रहेका थिए । यस्तै एक हजार ७३ व्यवसायी फर्ममा उपभोगका लागि असुरक्षित र म्याद नाघेका सामान राखेको पाइएको थियो तर अहिले सामान्य अवस्थाका व्यवसायी फर्मको सङ्ख्या एक हजार ४८० छ भने ९१ वटा व्यवसायी फर्मबाट म्याद नाघेका वस्तु नष्ट गरिएको छ । 

बजार व्यावहारिक रूपमा नसुध्रिएको

विभागको पछिल्लो बजार अनुगमन प्रतिवेदनमा बजार सुधार भएको देखिए पनि उपभोक्ता अधिकारकर्मी भने यस तथ्याङ्कलाई मान्न तयार छैनन् । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसेनाले विभागको अनुगमन प्रतिवेदनले बजार सुधार भएको देखाए पनि वास्तविक बजारको अवस्था त्यो नभएको बताउनुभयो । उहाँको अनुभवमा बजारमा कालोबजारी र म्याद नाघेका वस्तुको बिक्री ठुला व्यापारी फर्मबाट खुलेआम रूपमा भइरहेको छ तर विभागले त्यस्ता व्यवसायी फर्मविरुद्ध विभिन्न दबाब र प्रभावले गर्दा कारबाही गर्न सकेको छैन । पछिल्लो पटक बिनाकारण हरेक वस्तुको मूल्य वृद्धि हुँदासमेत विभागको अनुगमनले स्वाभाविक भन्दै ठुला घरानाका व्यवसायी फर्मलाई ‘क्लिन चिट’ दिने गरेको तिम्लिसेनाको आरोप छ ।

झन्डै दुई करोड राजस्व र एक करोड ६४ लाख बराबरको सामान नष्ट 

यस अवधिमा विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने ७९९ व्यवसायी फर्मलाई जरिबाना गरेर झन्डै दुई करोड रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ । यस्तै सो अवधिमा ९१ व्यवसायी फर्मबाट उपभोग्य म्याद नाघेका एक करोड ६४ लाख ३२ हजार बराबरका सामान नष्ट गरिएको छ । सो अवधिमा म्याद नाघेका ८३ लाख रुपियाँ बराबरका तीन हजार ६० कार्टोन बियर बरामद गरी नष्ट गरिएको थियो । म्याद नाघेका, गुणस्तरहीन सामान नष्ट गरिनुका साथै ती उत्पादक तथा व्यवसायी फर्मलाई कारबाही गरिएको विभागका निर्देशक भट्टराईले जानकारी दिनुभयो ।