• ३ असार २०८१, सोमबार

वीरका कार्यकारी निर्देशकको राजनीतिक आबद्धताबारे छानबिन

blog

काठमाडौँ, साउन ७ गते । राजनीतिक दलको सदस्य रहेको आरोप प्रमाणित भएपछि चार जना प्राध्यापकलाई कारबाहीको सिफारिस गरेको निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल राजनीतिक दलको सदस्य रहेको उजुरीमा कारबाही अगाडि बढाएको छ। निर्देशक पौडेल नेकपा (एमाले) को सङ्गठित सदस्य तथा जनसङ्गठन राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको महासचिव पदमा कार्यरत रहेको उजुरी परेको थियो। 

राजनीतिक दलसम्बन्धी ऐन–२०७३ मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति दलको सदस्य हुन नहुने व्यवस्था छ। तर निर्वाचन आयोगमा परेको उजुरीमा डा. पौडेल दलको सदस्य रहेको दाबी गरिएको छ। 

सो सम्बन्धमा स्पष्ट पार्न आयोगले वीर अस्पतालका निर्देशक पौडेल आबद्ध दाबी गरिएको राजनीतिक दल नेकपा (एमाले), उहाँ कार्यरत वीर अस्पताल, पदाधिकारी रहेको राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल र नियुक्त गरेको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ। नेकपा (एमाले) ले भने आयोगको पत्रको जवाफ पेस गरेको छ। 

आयोगले असार २० गते सो दललाई पठाएको पत्रको जवाफमा भनिएको छ, “दलको जनसङ्गठनको नामसँग मिल्दोजुल्दो नाम भएको अर्को संस्था क्रियाशील रहेको देखियो। वीर अस्पतालमा कार्यरत कार्यकारी निर्देशक डा. सन्तोष पौडेल महासचिव रहेको भनिएको राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल यस दलसँग सम्बद्ध छैन।”

आयोगले सो दललाई ‘राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल, नेकपा (एकीकृत माक्र्सवादी लेनिनवादी) निकट सङ्गठन हो होइन ? स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई दलको सदस्य बनाएको हो होइन ? हो भने कुन कानुनले सो सुविधा र अधिकार दललाई प्रदान गरेको छ ? स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई दलको सदस्यता प्रदान गरी दलको जनसङ्गठनको महासचिव बनाएकोमा तपाईंलाई किन कारबाही नहुनुपर्ने हो ?’ भन्ने प्रश्नसहित जवाफ पेस गर्न पत्र पठाएको थियो। 

नेकपा (एमाले) ले स्पष्ट जवाफ उल्लेख गरेको छैन। उसले डा. पौडेल महासचिव रहेको राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल यस दलसँग सम्बद्ध नरहेको हुँदा आयोगबाट सोधनी भएका अन्य प्रश्न हाम्रा सन्दर्भमा सान्दर्भिक नभएको उल्लेख गरेको छ। 

तर नेकपा (एमाले) को वेबसाइटमा भने एमाले सम्बद्ध जनसङ्गठनको सूचीको २२ औँ नम्बरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल उल्लेख गरिएको छ। सो दलको वेबसाइटसँग जोडिएको ‘वेब पोर्टल लिङ्क’ मा समेत राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको महासचिवमा डा. सन्तोष पौडेलको नाम उल्लेख छ। २०७८ चैतमा सम्पन्न महासङ्घको चौथो अधिवेशनबाट डा. पौडेल महासचिवमा निर्वाचित हुनुभएको हो। 

सो सम्बन्धमा प्रस्ट्याउन आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई परिपत्र गरेको थियो। आयोगले उल्लेख गरेको कर्मचारी सङ्केत नम्बर तथा स्वास्थ्य सेवा, दसौँ तहमा कार्यरत व्यक्ति वीर अस्पतालको निर्देशक भई कार्यरत रहेको डा. सन्तोष पौडेल नै रहेको पुष्टिसहितको जवाफ मन्त्रालयले पठाएको छ। आयोग स्रोतले भन्यो, “उजुरीसँगै पनि पर्याप्त प्रमाण छन्, आधिकारिक पुष्टिका लागि सम्बद्ध निकायसँग जवाफ मागिएको हो।” 

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालले भने पत्रको जवाफ पठाएको छैन। 

सोही प्रकृतिका उजुरीमा निर्वाचन आयोगले प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालमा आबद्ध भई सो सङ्घको अध्यक्ष पदमा रही त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन केन्द्रीय विभागका सहप्राध्यापक जगत तिमिल्सिना र महासचिव पदमा कार्यरत रहेको, त्रि–चन्द्र कलेज रसायनशास्त्र विभागका सहप्राध्यापक राजेन्द्र गौतम तथा वाल्मीकि विद्यापीठ प्रदर्शनीमार्गमा कार्यरत सहप्राध्यापक कृष्णकान्त पराजुलीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्रिवि, रजिष्ट्रारको कार्यालयलाई लेखी पठाउने निर्णय गरेको छ। 

आयोगले त्रिवि अर्थशास्त्र केन्द्रीय विभागमा कार्यरत सहप्राध्यापक उमाशङ्कर प्रसाद जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य रहेको ठहर गर्दै प्रचलित कानुनबमोजिम कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा त्रिवि, रजिष्ट्रारको कार्यालयलाई लेखी पठाउने निर्णय गरेको छ।