• ८ मंसिर २०८१, शनिबार

४१औँ बीपी स्मृति विशेष

नेता कार्यकर्ताले पढ्नुपर्ने बीपीका तीन पत्र

blog

काठमाडौं, साउन ६ गते । कांग्रेसमाथि निरन्तर लाग्ने एउटा आरोप हो, पार्टीको धरातल सम्झने फुर्सद नेतृत्वमा कहिल्यै भएन । कांग्रेस कसरी जन्मियो र कांग्रेसका संस्थापक नेताले कस्तो सङ्घर्ष गरे ? कांग्रेस स्थापनामा कोइराला परिवारको सङ्घर्षलाई एउटा छुट्टै अध्यायका रूपमा हेरिन्छ । त्यसमाथि विश्वेश्वरप्रसाद कोइरालाको सङ्घर्ष अझ फरक छ । त्यसमा पनि बीपी बिनाको कांग्रेस कल्पना बाहिरको कुरा हो । बीपीले २००३ सालमा भारतको पटनाबाट ‘पार्टी निर्माणका लागि गरेको आह्वान’, २००७ सालको क्रान्ति सफल पार्न सुरु भएको आन्दोलनका क्रममा जेल परेपछि तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस सभापतिको रूपमा कोइरालाले २००५ सालमा ‘तबेला भित्रबाट लेखेको पत्र’ र बागलुङ्का ओमप्रसाद थकालीलाई वि.सं. २०१३ पुस १० गते लेखेका पत्र पढेर कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकले पार्टीको इतिहास सम्झन सक्छन् । पार्टीको इतिहास मात्र नभएर फेरिएको परिस्थितिमा बीपीका महावाणी पढ्न सक्छन् । कांग्रेसको जन्म र आजको परिस्थितिलाई तुलना गर्न सक्छन् । यो आत्मसमीक्षाले कांग्रेसलाई थप लोकतान्त्रिक बाटोमा हिँड्न सहयोग गर्ने विश्वास गर्न सकिन्छ । बीपीको ४१ स्मृति दिवसको अवसरमा बीपीले पार्टी निर्माणका लागि गरेको आह्वानदेखि जेलदेखि साथीलाई लेखेका तीन पत्र :

कांग्रेस स्थापनामा कोइराला परिवारको सङ्घर्षलाई एउटा छुट्टै अध्यायका रूपमा हेरिन्छ । त्यसमाथि विश्वेश्वरप्रसाद कोइरालाको सङ्घर्ष अझ फरक छ ।

पार्टी निर्माणका लागि बीपीले ७७ वर्षअघि गरेको आह्वान

नेपालीसँग आधुनिक समयका चाहना प्राप्त गर्नका लागि आफ्नो सङ्गठन नहुनु दुःखको कुरो हो । यहाँ केही सीमित उद्देश्य भएका कतिपय स्थानीय सङ्गठन पक्कै छन् । तर, आजको समयको माग नेपालमा जबाफदेही सरकारको स्थापना र भारतको स्वतन्त्रता–प्राप्तिको बृहत् उद्देश्य लिएको नेपाललाई समेत समेटेर एउटा अखिल भारतीय सङ्गठन बनोस् भन्ने छ ।

यस प्रकार, नेपालीसामु पहिलो नेपालतर्फ र दोस्रो भारततर्फ–दुईतर्फी जिम्मेवारी छन् । नेपाल हरेक दृष्टिबाट खराब मार्गमा चल्दै छ । त्यहाँ कुनै प्रकारको स्वतन्त्रता छैन । कानुनभन्दा माथिबाट शासन चल्छ र, जनता अन्धविश्वास र अज्ञानले आक्रान्त छन् । छोटकरीमा भन्नुपर्दा, त्यहाँ दुनियाँमा कतैको प्रशासनसँग पनि तुलना हुन नसक्ने किमिसमको निकम्मा प्रशासन छ । स्वभावैले नेपालीहरूको पहिलो जिम्मेवारी आफ्नो राष्ट्रप्रति रहन्छ । किनभने, त्यो जतिसुकै खराब भए पनि लाखौँ नेपाली मानिसको राजनीतिक र सांस्कृतिक प्रेरणाको स्रोत त्यही नै हुन्छ । तर, हामीले भारततर्फको आफ्नो जिम्मेवारी पनि भुल्नु हुँदैन । नेपाल भारतकै अभिन्न भाग हो । तसर्थ, भारतीय माटोमा हुने जुनसुकै कुराबाट पनि त्यो पूर्ण रूपमा प्रभावित हुन्छ । त्यस वास्तविकताले गर्दा नेपालको समस्याको जड पनि भारत नै भएको छ । पहिले र अहिले सञ्चालित नेपाली सङ्गठनले नेपालीहरूको जिम्मेवारीको यस पक्षमा पर्याप्त दृष्टि पुर्‍याउन नसक्नु दुःखद् पक्ष हो । भारतको स्वतन्त्रताप्रप्तिको जीवन–मरणको लडाइँमा उनीहरूमध्ये धेरैले व्यक्तिगत रूपमा भाग लिएको भए पनि सङ्गठनका रूपमा भने भाग लिएका छैनन् । त्यसले गर्दा यसबेला नेपाल र भारत दुर्वतर्फ विचार पुर्‍याउने किसिमको नेपालीहरूको अखिल भारतीय सङ्गठनको अत्यन्त खाँचो छ ।


हाम्रो देशका धेरै व्यक्तिले मलाई यस दिशामा पहल गर्न आग्रह गरिरहेका छन् । यो जिम्मेवारी मैले स्वीकार गरेको छु र चाँडै नै नेपाली प्रतिनिधिहरूको एउटा सानो बैठक पनि बोलाउँदै छु । यस सम्बन्धमा नेपाल र भारतका दुवैतर्फका मेरा मित्रहरूबाट यसबीच प्राप्त हुने सुझावलाई स्वागत गर्दछु । उहाँहरूबाट सुझाव प्राप्त भइसकेपछि म बैठकको मिति र स्थान तय गर्नेछु । तसर्थ, यस्तो भावना भएका नेपालीलाई सम्पर्क गर्न म सार्वजनिक आह्वान गर्दछु । मेरो वर्तमान ठेगाना छ : कोशी नुक, ब्याण्डरोड, पटना ।

भारतको पटनाबाट प्रकाशित हुने ‘द सर्च लाइट’ पत्रिकामा पहिलो पटक २००३ साल असोज १६ गते प्रकाशित यो पत्र ‘विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख’ पुस्तकको परिशिष्ट : १ बाट लिइएको हो ।

बीपीले ७७ वर्षअघि जेलबाट साथीहरुलाई लेखेको पत्र
मलाई अत्यन्त पाशविक व्यवहार गरिएको छ । मलाई सात फुट लामो र छ फुट चौडा हावा नछिर्ने अँध्यारो कोठामा दिन–रात थुनिएको छ । मैले यसै कोठामा खाना पकाउनेसहित सबै दैनिक काम गर्नुपर्छ । मलाई सुरुको एक महिनासम्म चौबिसै घण्टा नेल र हथकडी लगाएर साङ्लोले बाँधेर राखिएको थियो । । अहिले कथकडी र साङ्लो हटाएका छन् । तर, गह्रुँगो नेल भने छँदै छ । म जेलको सामान्य रासन पाउँछु । त्यसमा चारआना मूल्य पर्ने एक सेर चामलको तीनचौथाइ भाग पाउँछु । पक्राउ परेको पहिलो चालीस घण्टासम्म त मलाई अलिकति नुनमात्र दिएका थिए । मलाई कुनै ओढ्ने वा ओछ्याउने दिइएको थिएन । पुसका अत्यन्त ठण्डी रात मैले त्यत्तिकै गुजार्नुपर्‍यो । मलाई उनीहरूले तेस्रो रात एउटा राडी र धुस्सा दिए । अहिलेसम्म म त्यसैको भारमा छु ।


म जहाँ थुनिएको छु, त्यो क्याप्टेन (जेलर)को घोडा–तबला हो । त्यसलाई जसोतसो मेरो जेल बनाइएको छ । यो ठाउँ अत्यन्त फोहोर छ । म बाहिरी विश्वबाट पूर्ण रूपमा अलग्याइएको छु । मैले आफ्ना नातेदारलाई पत्र लेख्न र किताब पाउन माग राख्दै आएको छु, तर उनीहरू केही सुन्दैनन् । मेरो स्वास्थ्य अत्यन्त खराब छ । मलाई कुनै चिकित्सकले परीक्षण गरेका छैनन् ।

कमरेडहरू बाहिर के गर्दै हुनुहुन्छ भन्ने मलाई थाहा छैन । मैले कारबाहीको कुनै निर्देशन दिनु उपयुक्त हुँदैन । म उहाँहरूलाई सबै दल र समूह संयुक्त मोर्चा निर्माणका लागि एकबद्ध हुनुपर्छ भन्ने सल्लाह मात्र दिनसक्छु । नेपाली राष्ट्रिय कांग्रेस, नेपाल प्रजा पञ्चायत र नेपाल प्रजातन्त्र कांग्रेसले अवश्य पनि संयुक्त कार्यक्रम ल्याउनुपर्छ । अर्थात् संयुक्त कारबाही थाल्नुपर्छ ।

मलाई आफूविरुद्ध लगाइएको अभियोगको पूरा जनकारी छैन । म वर्तमान पञ्चायती आन्दोलनको नेता भएको र मैले नेपाल प्रवेश नपाउने बन्देजलाई तोडेको हुँदा महाराजबाट यहाँ मेरो परिवारको गतिविधि रहुन्जेल मलाई कारावासमा राख्ने हुकुम भएको कुरा जनरल हरिशमशेरले बताए । छोटकरीमा, उनीहरूप्रति मेरो परिवारले असल व्यवहार नगरेसम्मका लागि म बन्धकसमेत बनाइएको छु ।

मलाई उनीहरूले नेपाल बसाइको बेला कहाँकहाँ बसेको थिएँ भन्ने प्रश्न सोधे । मैले कसैको नाम बताउन मानिनँ । कुनै तयारी नगरी आन्दोलन सुरु गर्नु हुँदैन भन्ने सल्लाह दिनका लागि मैले त्रिपुरबरलाई भेटेको कुरा भने स्वीकार गरेँ । जनरल विजयमार्फत महाराजलाई भेट्न खोजेको, त्यस सम्बन्धमा उनीसँग कुरो मिलाएको र जनरलको जवाफ पाउनुभन्दा पहिले नै पक्राउ परेको कुरा पनि मैले बताएँ । म पक्राउ पर्दा मैले महाराजलाई लेखेको पत्र उनीहरूले मेरो खल्तीमा फेला पारे । मैले उनीहरूलाई के भनेँ भने एक सच्चा सत्याग्रहीको हैसियतबाट मैले केही कुरा लुकाउनु छैन । पत्रको ब्यहोरा के.एच. लालो, सान्दाजु र कृष्णप्रसादलाई थाहा छ । एक सच्चा सत्याग्रहीले सबैभन्दा पहिले प्रतिपक्षीलाई आफैँले सुध्रिने मौका दिनुपर्ने हुँदा देशको अवस्थाका विषयमा महाराजलाई व्याख्या गर्नका लागि उहाँसँग भेट गर्न चाहेको कुरा उनीहरूलाई बताएँ ।

मेरो तात्पर्य के हो भने म पक्राउ हुनबाट भाग्न खोजेको थिइनँ । उनीहरूले मेरो साथबाट टङ्कप्रसादले लेखेका तीनवटा पत्र र मेरो कार्ययोजना, छ महिनाको कार्यक्रम पनि फेला पारे ।

कृपया मेरी पत्नीलाई पत्रको बारेमा यथाशीघ्र जानकारी दिनुहोला । मैले लेखेका कुनै पनि कागजात आफूसँग नराख्नुहोला । यो पत्र पठाउन सम्भव नभएमा यसको एउटा प्रतिलिपि उतारेर पठाउनुहोला । मलाई समाचार पठाउनुहोला ।

–बीपीले काठमाडौं जेलबाट २००५ साल फागुन ३० गते लुकाई–छिपाई लेखेको पत्र भारतको दिल्लीबाट प्रकाशित हुने ‘जनता’ नामक पत्रिकामा प्रकाशित थियो । प्रदीप गिरीले सम्पादन गर्नुभएको ‘विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख’ पुस्तकको ८ र ९ पृष्ठबाट लिइएको हो ।

कांग्रेसी जोगीको जस्तो निष्काम बन्नुपर्छ
बीपीले बागलुङका ओमप्रसादलाई लेखेको पत्र



प्रिय साथी ओमप्रसादजी,

देशको परिस्थितिका सम्बन्धमा मैले तपाईँलाई विशेष केही लेखिरहनु पर्दैन । नेपालको व्यवस्था अत्यन्त नाजुक छ । क्रान्तिपछि जुन शक्तिको उदय भएको थियो । त्यो शक्तिलाई कसैले अज्ञानताले, कसैले स्वार्थले दबाउने प्रयत्न गरी रहे जसले गर्दा देशले जुन उन्नति गर्नुपर्थ्यो, त्यो गर्न सकेन । अहिलेको जमानामा क्रान्तिपछि आएको विचार र सिद्धान्तको आधारमा मात्र देशले अगाडि पाइला चाल्न सक्छ । पुरानो दरबारिया स्वार्थको आधारमा उन्नति सम्भव छैन । नेपाली कांग्रेस क्रान्तिको प्रतीक र क्रान्तिपछि उदय भएको प्रजातान्त्रिक शक्तिको कमजोरी ! यो सत्यलाई हामी सबैले राम्ररी बुझ्नुपर्छ । सानोतिनो स्वार्थ पूर्तिको लागि हामी लाग्नथाल्यौँ भने यो सानोतिनो स्वार्थका आधारमा बनेका विभिन्न पार्टीहरूलाई हामीले स्थान दिन थाल्यौँ भने देशले उन्नति गर्न सक्दैन । चुनावको दिन पनि आउँदै छ । चुनाव प्रजातन्त्रको मुख्य ध्यान हो । यस समाजको राम्ररी प्रयोग जनताले गर्नुपर्छ । नत्र भने नेपालको भविष्य धमिलिने डर हुन्छ । यस सत्यलाई राम्ररी बुझेर चुनावको तयारी गर्नुपर्छ । चुनावमा स्वार्थी व्यक्तिहरूलाई मौका दिनु हुँदैन । कति कांग्रेसीको मुखबाट यो चिन्ताजनक कुरा सुनिन्छ कि यदि चुनावमा कांग्रेसले भाग लिने अनुमति दिएन भने स्वतन्त्र भएर लड्छौँ । यदि कांग्रेसलाई एउटा व्यक्तिगत स्वार्थ साधनको निम्ति बनाउन कोही लाग्दछ भने हामीले त्यसलाई कांग्रेसबाट टाढै राख्नुपर्छ । हामी सबैले निःस्वार्थी सेवा व्रत लिनुपर्छ । गेरुवा रङ्गको लुगा नलगाएर पनि हामीले मनमा जोगीको जस्तो निष्काम प्रवृत्ति धारणा गर्नुपर्छ । कुनै ठुलो पदमा पुगिन्छ भने पनि हामीमा अभिमान नभएर सेवा भाव हुनुपर्छ । यदि साधारण अवस्थामा रहनुपरेमा पनि दुःखी भएर उही सेवाभाव मनमा रहनुपर्छ । यति कुरा गर्न सक्यौँ भने देशलाई हामीले माथि लैजान सक्छौँ । अरू के लेखौँ । साथीहरूलाई मैले प्रष्ट लेखेको यस कुरालाई सबै साथीहरूलाई पनि सुनाइदिनुहोला ।

 साथी विश्वेश्वरप्रसाद कोइराला
(बागलुङ्गका ओमप्रसाद थकालीलाई २०१३ साल पुस, १० गते बीपीले लेख्नुभएको पत्र । यो पत्र ‘विश्वेश्वरप्रसाद कोइराला– राजनीतिक अभिलेख’ पुस्तकको परिशिष्ट : ६ बाट लिइएको हो ।