लीलाराज खड्का
बिर्तामोड कार्तिक २३ गते । झापाको शिवसताक्षी दुधे रंगशालामा आज हुने झापा महिला गोल्डकपको फाईनल खेलमा उपाधि रक्षा गर्ने दुई विभागीय टीम एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले दावी गरेका छन् ।
फाईनल खेलपूर्व आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुबै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली प्रथम महिला गोल्डकपको उपाधिका लागि आफूहरु तयार रहेको बताएका हुन् ।
एपिएफका प्रशिक्षक जिवेश पाण्डेले फाइनलमा अहिलेसम्म फुटबल टिमले पराजय नभोगेको आत्मविश्वास रहेको र त्यहि लय समात्ने बताउनुभयो । त्यस्तै एपिएफकी कप्तान अनिता बस्नेतले आफुहरु सधैभरी जितको ट्रफीका लागि खेल्ने भन्दै झापाको मैदानमा उपाधि जित्नेमा विश्वस्त रहेको बताउनुभयो ।
नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिलवालले आफ्नो टिममा रेखा पौडेल, पूजा राना मगरजस्ता स्टार खेलाडीहरु रहेकाले एपिएफलाई रोक्ने विश्वास व्यक्त गर्नुभयो । पुलिसको टिममा अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेकाले उपाधि रक्षा गर्ने सिलवालले बताउनुभयो ।
पुलिस क्लवकी कप्तान अमृता जैशीले विगतमा एपिएफसगको पराजयको बदला झापामै लिने आफूहरुलाई यो अवसर रहेको बताउनुभयो । “हामीले विगतमा धेरै पटक एपिएफसँग पराजय व्यहोरेका छौँ, तर यस पटक बदला लिँदै ट्रफी लिएर जानेछौँ । झापाको दर्शकका सामु पुलिसले उत्कृष्ट खेल देखाउनेछ” जैशीले भन्नुभयो ।
प्रतियोगितामा विजेता टोलीले नगद १० लाख १० हजार रुपियाँ, उपविजेताले ५ लाख रुपियाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपियाँ प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपियाँका दरले पुरस्कार पाउने छन् ।